होर्मुज स्ट्रेटमा इरान-अमेरिका नौसेनाबीच भिडन्त: एक भारतीय जहाज समुद्रमा डुब्यो
काठमाडौं। रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिने जलमार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच भीषण गोली हानाहान भएको छ।
दुई देशका सैन्य बलबीच भएको यस आकस्मिक झडपको चपेटामा परेर भारतको गुजरातबाट सञ्चालित एउटा मालवाहक जहाज समुद्रमा डुबेको छ। भारतीय अनलाइन दैनिक भास्करका अनुसार उक्त जहाज गुजरातको द्वारका जिल्लास्थित सलाया क्षेत्रको रहेको खुलेको छ।
दुई देशको सैन्य तनावका बीच भएको यस दुर्घटनामा परेर जहाजका चालक दलका एक सदस्य अल्ताफ तालब केरको दुःखद मृत्यु भएको छ।
जहाजमा एक बन्दुकधारी सुरक्षाकर्मीसहित कुल १८ जना सदस्य सवार रहेकोमा अन्य १७ जनालाई भने सुरक्षित उद्धार गर्न सफल भएको भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले जानकारी दिनुभएको छ। घाइते तथा उद्धार गरिएकाहरूको अवस्था र थप विवरण सङ्कलनका लागि दुबईस्थित भारतीय दूतावासलाई सहयोगका लागि इमेलमार्फत पत्राचार समेत गरिएको छ।
दुर्घटनामा परेको उक्त कार्गो जहाजको नाम ‘एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई’ रहेको बताइएको छ। उक्त जहाज दुबईबाट विभिन्न व्यापारिक सामानहरू (कार्गो) बोकेर यमनको मुकाल्ला बन्दरगाह तर्फ जाँदै गरेको अवस्थामा युद्धक क्षेत्रको चपेटामा परेको हो।
होर्मुज स्ट्रेटमा इरान र अमेरिकाबीच बढ्दो सैन्य उपस्थितिका कारण यसअघि पनि पटक-पटक तनाव उत्पन्न हुने गरे पनि यसपटकको भिडन्तले व्यावसायिक जहाज र नागरिकको ज्यान नै जोखिममा पारेको छ। यस घटनाले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा र दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप जटिलता ल्याउने देखिएको छ।







डिसी नेपाल







Facebook Comment