विजयलाई मुख्यमन्त्री बनाउन २ सिटे पार्टीको ठूला ठूला माग
काठमाडौं । तामिलनाडु विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएसँगै राज्यमा नयाँ सरकार गठनको रस्साकस्सी उत्कर्षमा पुगेको छ।
१०८ सिट जितेर सबैभन्दा ठूलो दल बनेको ‘तमिलगा वेत्री कझगम’ (टीबीके) का प्रमुख जोसेफ विजयलाई सत्ताको बागडोर सम्हाल्न अब मात्र दुई विधायकको समर्थन आवश्यक देखिएको छ। तर, निर्णायक मानिएको दुई सिट जितेको विदुथलाई चिरुथैगल काची (भीसीके) ले समर्थनका लागि राखेका ‘अस्वाभाविक’ मागहरूले विजयलाई अप्ठ्यारोमा पारेको छ।
२३४ सदस्यीय तामिलनाडु विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्छ। विजयको नेतृत्वमा रहेको टीभीके सँग हाल १०८ विधायक छन्। उनलाई भारतीय राष्ट्रिय कांग्रेसका ५, भारतीय कम्युनिस्ट पार्टी (सीपीआइ) का २ र मार्क्सवादी कम्युनिस्ट पार्टी (सीपीएम) का १ गरी कुल ११६ विधायकको समर्थन प्राप्त भइसकेको छ। बहुमतका लागि थप २ सिट आवश्यक रहेको अवस्थामा २ विधायक भएको भीसीके ‘किङमेकर’ को भूमिकामा उदाएको छ।
भीसीकेका महासचिव डी. रविकुमारका अनुसार पार्टीले केवल ‘बाहिरी समर्थन’ मात्र नदिई सत्तामा अर्थपूर्ण हिस्सेदारी खोजेको छ। भीसीकेले विजयसामु ठूला ठूला शर्तहरू राखेको बुझिएको छ ।
भीसीकेले आफ्ना नेता थोल थिरुमावलवनका लागि उपमुख्यमन्त्री पदको माग गरेको छ। “कुनै जिम्मेवारी बिनाको समर्थन असफल दृष्टिकोण हो,” भन्दै रविकुमारले सरकारमा प्रत्यक्ष सहभागी हुने संकेत दिएका छन्।
अभिनेताबाट राजनीतिमा आएका विजयले दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका छन्। उनले ‘तिरुची पूर्व’ सिट छाड्ने सम्भावना रहेका बेला भीसीकेले सोही क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको छ।
विधानसभाको समर्थनको बदलामा भीसीकेले आगामी निर्वाचनका लागि चिदम्बरम लोकसभा सिटमा पनि आफ्नो ग्यारेन्टी खोजेको छ।
वर्तमान विधानसभाको कार्यकाल भोलि समाप्त हुँदैछ। विजयले हिजो साँझ राज्यपाल राजेन्द्र अर्लेकरलाई भेटेर ११६ विधायकको समर्थन पत्र बुझाइसकेका छन्। तर, बहुमत (११८) नपुगेसम्म राज्यपालले उनलाई सरकार गठनका लागि आह्वान गर्ने सम्भावना न्यून छ।
यदि आज दिनभरमा भीसीके र टीभीकेबीच सहमति जुट्न सकेन भने राज्यमा संवैधानिक संकट उत्पन्न हुने देखिन्छ। यस्तो अवस्थामा राज्यपालले विधानसभा भंग गरी राष्ट्रपति शासनको सिफारिस गर्न सक्ने संवैधानिक प्रावधान रहेको छ।
विजयका लागि आफ्नो राजनीतिक यात्राको सुरुवातमै यो ‘गठबन्धन राजनीति’ को अग्निपरीक्षा निकै चुनौतीपूर्ण बनेको छ। उनले साना दलका ठूला मागलाई सम्बोधन गरेर मुख्यमन्त्रीको कुर्सी जोगाउँछन् वा वैकल्पिक बाटो रोज्छन्, त्यसको फैसला आजै हुने निश्चित छ।







डिसी नेपाल







Facebook Comment