निलगिरिको फेदीमा नेपाली सेनाको साहसिक अभ्यास
मुस्ताङ। मुस्ताङस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमाल जस्तो अत्यधिक उचाइ, प्रतिकूल मौसम र कठिन भौगोलिक परिस्थितिमा हुनसक्ने प्राकृतिक विपद्लाई लक्षित गरी विशेष खोज तथा उद्धार अभ्यास सम्पन्न गरेको छ।
शुक्रबार मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ड्रमक्याम्प माथिको निलगिरि हिमालको फेदीमा यस अभ्यासको अन्तिम चरण पूरा गरिएको हो। समुद्री सतहबाट करिब ४ हजार ३०० मिटरको उचाइमा रहेको निलगिरि हिमनदीको खोचमा सेनाले आफ्नो कार्यकुशलता प्रदर्शन गरेको थियो।
विगतमा आएको ‘हुड्हुड’ चक्रवातका कारण कैसाङ हिमनदी क्षेत्रमा पर्यटकहरू हिमपात र हिमआँधीमा फसेको घटनालाई मुख्य आधार बनाएर यसपटकको अभ्यास डिजाइन गरिएको थियो।
इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडका अनुसार हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र विकट भूगोलका कारण हुने जोखिमलाई न्यूनीकरण गर्न र दुर्घटनाको समयमा तत्काल प्रभावकारी उद्धार सुनिश्चित गर्न यो अभ्यास निकै फलदायी देखिएको छ। अभ्यासका क्रममा डोरीको सहायताले खोचमा झुन्डिएर फसेका पदयात्री र शवहरूलाई बाहिर निकाल्ने जटिल प्रक्रियाको सफल परीक्षण गरिएको थियो।
यस विशेष तालिममा इन्द्रबक्स गण, सैनिक उच्चशिखर शिक्षालय र मनाङस्थित भैरव गुल्मका ५५ जनाभन्दा बढी सैनिकहरूको सहभागिता रहेको थियो। उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन नेपाली सेनाका दुई वटा तालिमप्राप्त कुकुरहरूको समेत प्रयोग गरिएको थियो।
२३ नं. बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायकरथी विजय केशीको प्रमुख उपस्थितिमा भएको यस अभ्यासमा सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशिल प्याकुरेल लगायतका उच्च अधिकारीहरूको सहभागिता थियो।
नेपाली सेनाको नेतृत्वमा भएको यस अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधिहरूलाई समेत सहभागी गराइएको थियो। जसले गर्दा विपद्को समयमा विभिन्न सुरक्षा निकायहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्न सहज हुने विश्वास गरिएको छ।
अभ्यासको पहिलो दिन जोमसोम नजिकैको पहाडमा सुरु गरिएको यो प्रशिक्षणले मुस्ताङ र मनाङ जस्ता उच्च हिमाली जिल्लाहरूमा पर्यटक तथा स्थानीयको सुरक्षाका लागि सुरक्षा निकाय सदैव तयारी अवस्थामा रहेको सन्देश दिएको छ।







डिसी नेपाल







Facebook Comment