उत्तर कोरियाको नयाँ अनुहार: १३ वर्षीया किम जू ए र उनको प्रभावशाली छवि

डिसी नेपाल
२७ वैशाख २०८३ ९:४९

बीबीसी। सन् २०२२ को नोभेम्बरमा पहिलो पटक सार्वजनिक भएदेखि नै उत्तर कोरियाली नेता किम जङ-अनकी छोरी किम जू ए विश्वभर चर्चाको विषय बनेकी छन्।

नौ वर्षको उमेरमा विशाल अन्तरमहादेशीय क्षेप्यास्त्रको अगाडि सेतो ज्याकेट र कालो पाइन्टमा देखिएकी जू ए अहिले १३ वर्ष पुगेकी छन्। यस अवधिमा उनको कपाल बाट्ने शैलीदेखि लिएर पहिरनको छनोटमा आएको परिपक्वताले धेरैको ध्यान खिचेको छ।

दक्षिण कोरियाली गुप्तचर निकायहरूले उनलाई किम जङ-अनको सम्भावित उत्तराधिकारीका रूपमा विश्लेषण गरिरहेका छन्। जू एलाई हालका दिनमा बुवासँगै सैन्य परेड, क्षेप्यास्त्र परीक्षण र विदेश भ्रमणहरूमा समेत प्रभावशाली भूमिकामा देख्न सकिन्छ।

विश्लेषकहरूका अनुसार जू एको फेसन शैली उनको व्यक्तिगत चाहनाभन्दा पनि उत्तर कोरियाली सरकारको प्रोपगेन्डा विभागले निकै सावधानीपूर्वक तय गर्ने गरेको छ।

सानै उमेरमा भावी नेताका रूपमा स्थापित गर्नका लागि उनलाई उनकी आमा ली सोल जूको जस्तै औपचारिक सुट, स्कर्ट र परिपक्व देखिने पोसाक लगाउन लगाइन्छ। सैन्य अखडा वा दुर्गम क्षेत्रको भ्रमण गर्दा भने उनी बुवाको जस्तै कालो छालाको ज्याकेट र ट्रेन्च कोटमा देखिने गर्छिन्।

यो शैली उत्तर कोरियाली नेताहरूले आफ्नो शक्ति र वैधता प्रदर्शन गर्न विगतदेखि नै प्रयोग गर्दै आएको ‘छवि प्रतिकृति’ रणनीतिको एउटा हिस्सा हो। किम जङ-अनले पनि आफ्नो नेतृत्वको सुरुवाती वर्षहरूमा आफ्ना हजुरबुवा किम इल-सङको जस्तै लुगा लगाएर जनताको सम्मान आर्जन गर्ने प्रयास गरेका थिए।

किम जू एले लगाउने महँगा छालाका ज्याकेट र फर कोटले उनलाई सामान्य नागरिकभन्दा उच्च र विशिष्ट हैसियतको रहेको प्रमाणित गर्न खोज्छ। विलासी ब्रान्डका यस्ता सामग्रीहरू सामान्य उत्तर कोरियालीको पहुँचभन्दा धेरै टाढा छन्।

रोचक कुरा के छ भने, किम परिवारले पश्चिमा र बाह्य फेसनको आनन्द लिइरहँदा आम नागरिकका लागि भने सन् २०२० देखि बाह्य संस्कृति निषेध गर्ने कडा कानुन लागू गरिएको छ।

जू एले सार्वजनिक रूपमा क्रिश्चियन डायर जस्ता महँगा विदेशी ब्रान्डका ज्याकेट र आधुनिक ब्लाउज लगाएको देखिए पनि सर्वसाधारणलाई भने त्यस्तो फेसन र कपालको शैली अपनाउन चेतावनी दिइने गरिएको छ। शासनका विरुद्ध हुने यस्ता गतिविधिलाई ‘समाजवादविरोधी’ भन्दै दमन गरिन्छ।

उत्तर कोरियामा नियमहरू सर्वसाधारणका लागि मात्र हुन् भन्ने कुरा किम परिवारको जीवनशैलीले स्पष्ट पार्छ। यद्यपि, किम परिवारको यो भव्य फेसन शैलीले धनी उत्तर कोरियाली युवाहरूलाई भने आकर्षित गरिरहेको छ।

पश्चिमा संस्कृतिमा प्रतिबन्ध भए पनि धनी वर्गका बीच विलासी कस्मेटिक्स, अत्तर र छालाका पोसाकहरू लोकप्रिय बन्दै गएका छन्। कतिपय ठाउँमा बालबालिका र युवाहरूले किम जू एकै शैलीको नक्कल गर्न थालेका विवरणहरू पनि बाहिर आएका छन्।

बाहिरी संसारबाट पूर्णतः कटेको उत्तर कोरिया जस्तो देशमा पनि अहिले किम जङ-अनकी छोरी एउटा नयाँ ‘फेसन आइकन’का रूपमा उदाएकी छन्, जसले भविष्यमा देशको बागडोर सम्हाल्ने बलियो संकेत गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *