विजयको कार नम्बर र चुनावी नतिजाको दुर्लभ संयोग
काठमाडौं । दक्षिण भारतीय चलचित्रका नायक विजय ‘थलापति’ को राजनीतिक दल ‘तमिलगा वेत्री कझगम’ ले तमिलनाडु विधानसभा निर्वाचन २०२६ मा ऐतिहासिक प्रदर्शन गरेसँगै यतिबेला भारतभर विजयको चर्चा चुलिएको छ। मुलधारका सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म विजयकै ‘जादू’ छाएको छ भने दिग्गज राजनीतिक खेलाडीहरू समेत उनको दलको प्रदर्शनबाट स्तब्ध बनेका छन्।
विजयको चुनावी जितसँगै यतिबेला सामाजिक सञ्जालमा उनको सन् २०२४ को चर्चित चलचित्र ‘द ग्रेटेस्ट अफ अल टाइम’ (गोट) को एउटा दृश्य भाइरल भइरहेको छ। उक्त दृश्यमा विजय एउटा कारमा बसिरहेको देखिन्छन्, जसको नम्बर प्लेटमा ‘टीएन ०७ सीएम २०२६’ लेखिएको छ।
अहिले प्रशंसकहरूले यसलाई एउटा ठूलो संयोगको रूपमा व्याख्या गरिरहेका छन्। ‘टीएन ०७’ ले चेन्नईको एउटा क्षेत्रलाई जनाउँछ भने ‘सीएम २०२६’ ले सन् २०२६ मा उनी मुख्यमन्त्री बन्ने संकेत गरेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। यो फिल्म विजयले फेब्रुअरी २०२४ मा आफ्नो राजनीतिक दल घोषणा गरेको केही महिनापछि रिलिज भएको थियो, जसले पहिले नै उनको राजनीतिक भविष्यको संकेत दिएको दाबी गरिँदैछ।
तमिलनाडु विधानसभाका कुल २३४ सिटमध्ये विजयको पार्टी टीभीकेले १०८ सिटमा शानदार जित हासिल गरेको छ। यो नतिजासँगै विजयको पार्टी तमिलनाडुको सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। यतिबेला तमिलनाडुको राजनीतिमा दशकौँदेखि वर्चस्व कायम राख्दै आएका द्रविड मुन्नेत्र कझगम र एआईएडीएमके जस्ता पुराना दलहरूलाई विजयले ठूलो चुनौती दिएका छन्।
विजयका समर्थकहरूले यो चुनावी नतिजालाई तमिल राजनीतिमा एउटा नयाँ युगको सुरुवातको रूपमा मनाइरहेका छन्। फिल्मका पुराना क्लिपहरू र विशेषगरी कार नम्बर प्लेटको उक्त दृश्यलाई शेयर गर्दै समर्थकहरूले लेखिरहेका छन्, “थलापतिले दुई वर्षअघि नै आफू मुख्यमन्त्री बन्ने कुराको भविष्यवाणी गरेका थिए।”
यो जितले भारतीय राजनीतिमा ‘सिनेमा र राजनीति’ को गहिरो सम्बन्धलाई पुनः पुष्टि गरेको छ। अब विजयले फिल्मी पर्दामा जस्तै वास्तविक शासन सत्तामा कस्तो भूमिका खेल्छन् भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ।







डिसी नेपाल







Facebook Comment