क्यान्सरविरुद्ध महानगरको सक्रियता: १७ सय परीक्षणमा ६० जनामा एचपीभी संक्रमण

डिसी नेपाल
२९ वैशाख २०८३ १०:०४

काठमाडाैं। काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क क्यान्सर परीक्षण शिविरमा सहभागी महिलाहरूमध्ये उल्लेख्य संख्यामा क्यान्सरको जोखिम हुनसक्ने संकेत देखिएको छ।

महानगरले वीर अस्पतालसँगको प्राविधिक सहकार्यमा चैत १६ देखि वैशाख २१ गतेसम्म सञ्चालन गरेको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणका क्रममा १७ सय जनाको रिपोर्ट आउँदा ६० जनामा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) पोजेटिभ पाइएको छ।

कुल २ हजार ७७९ जना महिलाको एचपीभी जाँच गरिएकोमा अझै केहीको रिपोर्ट आउन बाँकी रहेको छ।

एचपीभी पोजेटिभ देखिनु आफैँमा क्यान्सर हुनु नभए पनि यो भाइरस शरीरमा लामो समयसम्म रहिरहेमा क्यान्सर हुनसक्ने उच्च जोखिम रहन्छ। रिपोर्टमा पोजेटिभ देखिएका महिलाहरूलाई थप सुनिश्चितताका लागि वीर अस्पतालमा हरेक बुधबार र शुक्रबार कल्पोस्कोपी जाँच गर्ने व्यवस्था मिलाइएको छ।

हालसम्म १८ जनाको कल्पोस्कोपी भइसकेको छ भने अन्य बिरामीहरूलाई पनि स्वास्थ्य अवस्था अनुसार स्तनको मेमोग्राम र पाठेघरको भिडियो एक्सरेका लागि तालिका मिलाएर बोलाउने गरिएको छ। यो सम्पूर्ण प्रक्रिया र प्रारम्भिक उपचारको खर्च महानगरपालिकाले नै बेहोर्दै आएको छ।

शिविरमा परीक्षणका लागि प्रक्रिया सुरु गरेका सबै महिलाहरू भने अस्पतालसम्म पुगेका छैनन्। कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार ३ हजार ४९४ जनाले स्वास्थ्य प्रवर्धन केन्द्रबाट रिफरल स्लिप लिएको भए तापनि २ हजार ९७५ जना मात्रै अस्पताल पुगेका छन्।

प्रक्रिया सुरु गरेर पनि ५१९ जना महिलाहरू सेवा लिन किन पुग्नुभएन भन्ने विषय अहिले खोजीको विषय बनेको छ। अस्पताल पुगेका महिलाहरूमध्ये ४११ जनाको मेमोग्राम गरिएको छ भने ४९४ जनाको स्तन र पाठेघरको भिडियो एक्सरे गरिएको छ।

परीक्षणका क्रममा अन्य स्वास्थ्य समस्याहरू पनि फेला परेका छन्। ४५ जनाको पाठेघरको मुखमा मासु पलाएको देखिएको छ भने केही महिलामा आङ् खसेको र पाठेघरको मुखमा संक्रमण (पीआइडी) जस्ता समस्या देखिएका छन्।

चिकित्सकहरूका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलाले कम्तीमा हरेक ५ वर्षमा एकपटक एचपीभी परीक्षण गराउनु अनिवार्य छ। विशेषगरी सानै उमेरमा यौन सम्पर्क भएका, धेरै पटक गर्भवती भएका, धुमपान गर्ने वा प्रतिरक्षा प्रणाली कमजोर भएका महिलाहरू पाठेघरको मुखको क्यान्सरको उच्च जोखिममा रहने गर्दछन्।

त्यसैगरी स्तन क्यान्सरको हकमा ठोस कारण नदेखिए पनि ५० वर्ष कटेका र परिवारमा कसैलाई क्यान्सर भएको इतिहास भएका महिलाहरूले विशेष सावधानी अपनाउनु पर्ने सुझाव दिइएको छ।

क्यान्सरको प्रारम्भिक अवस्था (सीआइएन) मै पहिचान गर्न सकिएमा यसको उपचार सम्भव हुने भएकाले यस्ता स्क्रिनिङ कार्यक्रमहरूले महिला स्वास्थ्यमा ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *