कांग्रेसमा केन्द्रीय सदस्य मनोनयनप्रति युवा नेताहरूको आपत्ति: ‘यथास्थितिमा रमाउने नेतृत्वबाट पार्टी चल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले हालै गरेको केन्द्रीय सदस्यहरूको मनोनयनलाई लिएर पार्टीभित्रका युवा नेताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
लामो समयदेखि पार्टीमा अवसरको पर्खाइमा रहेका युवा नेताहरूले नेतृत्वले परम्परागत शैली नत्यागेको भन्दै निर्णयको विरोध गरेका हुन्।
नेपाल विद्यार्थी संघ र तरुण दलमा लामो समय सक्रिय रहेका युवा नेता लावस राईले पार्टीलाई ‘बदलिएको’ दाबी गरिए पनि व्यवहारमा पुरानै र परीक्षण भइसकेका अनुहारहरूलाई मात्र प्राथमिकता दिइएको आरोप लगाए।
नेता राईले पटक-पटक अवसर पाएका र ‘टेस्टेड’ नेताहरूबाट पार्टीको वास्तविक रूपान्तरण सम्भव नहुने जिकिर गरे। “पार्टी अब क्लासिकल शैलीले चल्दैन, यथास्थितिमा रमाउने नेताहरूले परिवर्तनको जग बसाल्न सक्दैनन्,” उनले भने।
राईका अनुसार २०६२/६३ को आन्दोलनमा रगत पसिना बगाएका युवाहरूको काँधमा टेकेर शक्तिमा पुगेका नेताहरूले अहिले तिनै युवालाई पाखा लगाएर गुट-उपगुटमा रमाउनेहरूलाई अवसर बाँडिरहेका छन्। उनका अनुसार कांग्रेसलाई पुनर्जीवन दिन अब नयाँ उर्जा, नयाँ विचार र जुझारु क्षमता भएका व्यक्तिहरूलाई नेतृत्व तहमा ल्याउनु अनिवार्य छ।
सभापति थापाले सोमबार मात्रै कोइराला र देउवा समूहका गरी १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।
पर्याप्त परामर्श र आन्तरिक छलफल विना नै गरिएको यो मनोनयनले पार्टीभित्र फेरि नयाँ खालको आन्तरिक मतभेद र शक्ति संघर्ष निम्त्याएको देखिएको छ।
यसअघि पदाधिकारी र केन्द्रीय सदस्यहरूले समेत नेतृत्वको यस्ता अपारदर्शी निर्णयले पार्टीलाई कमजोर बनाउने भन्दै सचेत गराउँदै आएका थिए।







डिसी नेपाल







Facebook Comment