तमिलनाडुको तेस्रो ठूलो पार्टी फुट्यो, ३० विधायकद्वारा विजयलाई समर्थन
काठमाडौं । दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल आएको छ। राज्यको तेस्रो ठूलो राजनीतिक शक्ति अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कझगम (एआइएडीएमके) औपचारिक रूपमा विभाजित भएको छ।
पार्टीका प्रभावशाली नेता सी.भी. सन्मुखमको नेतृत्वमा ३० जना विधायकहरूले विद्रोह गर्दै नवनिर्वाचित मुख्यमन्त्री विजयको नेतृत्वमा रहेको तमिलगा भेत्री कझगम (टीभीके) लाई समर्थन गर्ने घोषणा गरेका छन्।
हालै सम्पन्न विधानसभा निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि त्रिशंकु संसदमा सत्ता समीकरणको खेल सुरु भएको थियो। १०८ सिट जितेर सबैभन्दा ठूलो दल बनेको टीभीकेलाई रोक्न एआइएडीएमकेका महासचिव एडप्पादी के. पलानीस्वामीले आफ्ना कट्टर प्रतिद्वन्द्वी डीएमकेसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेका थिए। ६ दशकदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका दुई द्रविड पार्टीबीचको यो गोप्य सहमतिलाई सन्मुखम पक्षले ‘पार्टीको आदर्शविपरीत’ भन्दै विद्रोह गरेको हो।
२३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्दछ। १०८ सिट जितेको विजयको पार्टी टीभीकेलाई बहुमतका लागि १० सिटको अभाव थियो। कांग्रेस र अन्य साना दलहरूले समर्थन दिएपछि उनले बहुमत जुटाएका थिए ।
अब, एआआइएडीएमकेका ३० जना विद्रोही विधायकहरूले समर्थन गरेसँगै विजय सरकारको पक्षमा अब १५० विधायक पुगेका छन्। यसले अभिनेताबाट राजनीतिमा प्रवेश गरेका विजयको सरकारलाई थप सुरक्षित र शक्तिशाली बनाएको छ।
विद्रोही समूहका नेता सी.भी. सन्मुखमले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने— ‘हामी हाम्रा संस्थापक नेता एमजीआर र अम्मा (जयललिता) को अपमान हुने गरी डीएमकेसँग कहिल्यै हात मिलाउन सक्दैनौँ। पलानीस्वामीले सत्ताका लागि पार्टीको अस्तित्व नै खतरामा पारेपछि हामीले नयाँ शक्तिको रूपमा उदाएका विजयलाई समर्थन गर्ने निर्णय लिएका हौँ।’
यो फुटसँगै ४७ सिट जितेको एआइएडीएमके अब औपचारिक रूपमा कमजोर भएको छ भने राज्यमा ६ दशकदेखि कायम रहेको दुई-ध्रुवीय राजनीतिक वर्चस्व समाप्त हुने संकेत देखिएको छ। १०८ सिटसहित पहिलो दल बनेको टीभीकेलाई प्राप्त यो थप समर्थनले तमिलनाडुमा ‘विजय युग’ को सुरुवात भएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।
यस घटनाले तमिलनाडुको राजनीति मात्र नभई समग्र भारतीय राजनीतिमा नयाँ शक्तिहरूको उदय र पुराना शक्तिहरूको ह्रासको चित्र प्रस्तुत गरेको छ।







डिसी नेपाल







Facebook Comment