करिअरकै कठिन मोडमा बेलायती प्रधानमन्त्री, आफ्नै पार्टीका ७० सांसदले मागे राजीनामा
काठमाडौं । बेलायती प्रधानमन्त्री कीअर स्टार्मर हाल आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन मोडमा आइपुगेका छन्। सन् २०२४ को आम निर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक जित दिलाएर १० डाउनिङ स्ट्रिट प्रवेश गरेका स्टार्मरले दुई वर्ष नपुग्दै आफ्नै पार्टीभित्रबाट राजीनामाको तीव्र दबाब खेपिरहेका छन्।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा लेबर पार्टीले बेहोरेको अप्रत्याशित हार नै यो संकटको मुख्य कारण बनेको छ। बेलायतका विभिन्न भागमा भएको निर्वाचनमा लेबर पार्टीले १,४०० भन्दा बढी काउन्सिल सिटहरू गुमाएको छ भने ४० भन्दा बढी काउन्सिलहरूमा आफ्नो नियन्त्रण गुमाएको छ।
विशेषगरी वेल्सको संसद (सेनेड) मा लेबरको लामो समयदेखिको वर्चस्व समाप्त हुनु र स्कटल्याण्डमा पनि पार्टी पछाडि पर्नुले स्टार्मरको नेतृत्वमाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। यो निर्वाचनमा दक्षिणपन्थी ‘रिफर्म यूके’ र वामपन्थी झुकाव राख्ने ‘ग्रिन पार्टी’ ले लेबरका परम्परागत मतदाताहरूलाई आफूतिर आकर्षित गर्न सफल भएका छन्। मतदाताहरूले लेबर पार्टीले जनताको जीवनस्तर सुधार गर्न र आर्थिक चुनौतीहरू समाधान गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै स्टार्मरविरुद्ध लेबर पार्टीभित्रै विद्रोह सुरु भएको छ। हालसम्म ७० भन्दा बढी सांसदहरूले सार्वजनिक रूपमै उनलाई पद छोड्न वा राजीनामाको स्पष्ट समयतालिका सार्वजनिक गर्न माग गरेका छन्। केही मन्त्रीका सल्लाहकारहरूले “प्रधानमन्त्रीले जनताको विश्वास गुमाइसकेको” भन्दै राजीनामा समेत दिइसकेका छन्।
पार्टीभित्रको असन्तुष्टि क्याबिनेट (मन्त्रिपरिषद्) सम्म पुगेको छ। विदेश मन्त्री यभेट कुपर र गृह मन्त्री शबाना महमूद जस्ता वरिष्ठ नेताहरूले पनि प्रधानमन्त्रीलाई मर्यादित रूपमा पद हस्तान्तरण गर्ने प्रक्रिया सुरु गर्न सुझाव दिएको समाचार बाहिरिएका छन्।
लेबर पार्टीको नियमानुसार, ८१ सांसदले लिखित माग गरेमा नेतृत्व परिवर्तनको लागि औपचारिक प्रक्रिया सुरु हुन सक्छ, जुन संख्याको निकै नजिक असन्तुष्ट पक्ष पुगिसकेको छ।
तथापि, प्रधानमन्त्री स्टार्मरले भने तत्काल राजीनामा नदिने अडान राखेका छन्। सोमबार लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको नतिजा “निकै कठिन” भएको स्वीकार गरे, तर आफू भाग्ने पक्षमा नरहेको स्पष्ट पारे।
उनले भने, “विगतका सरकारहरूमा पटक-पटक नेतृत्व परिवर्तन हुँदा देशले ठूलो मूल्य चुकाउनुपरेको छ। लेबर सरकारले देशलाई फेरि त्यस्तै अस्थिरतातर्फ धकेल्ने गल्ती गर्नेछैन।” उनले आफ्नो सरकारले केही गल्ती गरेको स्वीकार गर्दै अब नयाँ ढङ्गले अघि बढ्ने बाचा गरेका छन्।
उनले युरोपेली युनियनसँगको सम्बन्ध सुधार गर्ने, आर्थिक विकासमा केन्द्रित हुने र शिक्षामा लगानी बढाउने जस्ता नयाँ योजनाहरू अघि सारेका छन्। तर, विश्लेषकहरूका अनुसार उनको यो “रिसेट” प्रयास निकै ढिलो भइसकेको छ।
स्टार्मरको कुर्सी हल्लिएसँगै नयाँ नेतृत्वका लागि सम्भावित नामहरूको चर्चा पनि सुरु भएको छ। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ, पूर्व उपप्रधानमन्त्री एन्जेला रायनर र म्यान्चेस्टरका मेयर एन्डी बर्नहमको नाम अग्रपङ्क्तिमा छ। विशेषगरी एन्डी बर्नहम पार्टीका कार्यकर्ता र सर्वसाधारणमाझ निकै लोकप्रिय छन्, यद्यपि उनी हाल संसद सदस्य नरहेका कारण प्राविधिक कठिनाइ भने देखिन्छ।
बेलायती राजनीतिमा अहिले एक प्रकारको अनिश्चितता छाएको छ। आज हुन गइरहेको क्याबिनेट बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। यदि वरिष्ठ मन्त्रीहरूले स्टार्मरलाई साथ नदिएमा उनले आगामी केही दिनमै पदबाट बाहिरिनुपर्ने सम्भावना प्रबल छ।
बढ्दो महँगी, आप्रवासन समस्या र पार्टीभित्रको आन्तरिक कलहले घे्रिएका स्टार्मरका लागि यो समय “गर या मर” को स्थिति जस्तै बनेको छ।बेलायतको अर्थतन्त्रलाई स्थिर बनाउने र जनताको विश्वास जित्ने बाचाका साथ सत्तामा आएको लेबर पार्टीका लागि यो दुई वर्षपछिको स्थिति निकै चुनौतीपूर्ण देखिएको छ।
स्टार्मरले आफ्ना विरोधीहरूलाई शान्त पार्न सक्छन् वा नयाँ नेतृत्वको लागि बाटो प्रशस्त गर्छन्, त्यसले नै आगामी वर्षहरूमा बेलायतको राजनीतिक दिशा तय गर्नेछ।







डिसी नेपाल







Facebook Comment