सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार : दुई घटनामा पारिवारिक रिसइबीको खुलासा
सिरहा। सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। लामो अनुसन्धानपछि दुवै घटनामा पारिवारिक रिसइबी मुख्य कारण रहेको खुलेको हो।
गत माघ १६ गते सिरहा नगरपालिका–७ स्थित आफ्नै खेत नजिक गोली प्रहारबाट ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भएको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिरहा नगरपालिका–१ का ५२ वर्षीय उपेन्द्र यादवलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उपेन्द्रले पुरानो पारिवारिक विवादका कारण भारतीय सुटरलाई सुपारी दिई हत्या गराएका हुन्।
प्रहरी अनुसन्धानअनुसार हत्या गर्न तीन लाख रुपैयाँ दिने सहमति भएको थियो। जसमा एक लाख रुपैयाँ तत्काल दिएको र बाँकी दुई लाख दिन बाँकी रहेको बयान उपेन्द्रले दिएका छन्। उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
यसै अनुसन्धानका क्रममा अर्को गोली प्रहार घटना पनि सार्वजनिक भएको छ । औरही गाउँपालिका–५ का श्यामसुन्दर शर्मामाथि माघ ४ गते राति गाउँकै जितिया मन्दिरमा सुतिरहेका बेला झ्यालबाट गोली प्रहार गरिएको थियो। टाउकोमा गोली लागेका शर्माको विराटनगरमा उपचारपछि अवस्था सामान्य भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय ५५ वर्षीय हरि ठाकुरले पनि पारिवारिक रिसइबीका कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिई श्यामसुन्दरमाथि ज्यान मार्ने उद्देश्यले गोली प्रहार गराएका थिए।
घटनामा संलग्न भारतीय सुटरसहित उनीहरूलाई सम्पर्क गराउने अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको सिरहाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिएका छन्।







डिसी नेपाल







Facebook Comment