रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता
सिरहा । सिरहाको औरही गाउँपालिका–३ मा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।
स्थानीय वीरेन्द्र साहलाई सडक खाली गराउने क्रममा रुखमा बाँधिएको घटनापछि पीडित पक्षको जाहेरीका आधारमा औरही–३ का वडाध्यक्ष जीवछ यादवसहित हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदिप यादव र बिसुन यादवमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । पीडितको जाहेरी दर्ता भइसकेको छ । पक्राउ अनुमति लिने प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
घटना औरही–३ को पिपरा टोलमा भएको हो । एक वर्षअघि निर्माण गरिएको कृषि सडकको विषयलाई लिएर विवाद हुँदै आएको थियो । स्थानीय वीरेन्द्र साहको जग्गा सडक विस्तारमा परेको भन्दै विवाद सिर्जना भएको बताइएको छ ।
सोमबार वडाध्यक्षसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेपछि विवाद चर्किएको थियो ।
विरोध गरेपछि वीरेन्द्रलाई कुटपिट गर्दै रुखमा बाँधिएको तथा निजी जग्गामा बनेका संरचना डोजर लगाएर हटाइएको आरोप लागेको छ । घटनापछि स्थानीयस्तरमा व्यापक आलोचना भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment