धवलागिरिमा मानव स्पर्श ६६ वर्ष, सात सय जनाभन्दा बढीद्वारा आरोहण
म्याग्दी। विश्वको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) मा मानव पाइला परेको ६६ वर्ष पूरा भएको अवसरमा यस वर्ष पहिलोपटक हिमालकै काखमा रहेको बस्ती म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा विशेष कार्यक्रम गरी आरोहण दिवस मनाइएको छ।
विगतका वर्षहरूमा पहुँच र समन्वयको अभावमा काठमाडौँ र पोखरामा मात्र सीमित हुने गरेको यो दिवसलाई यसपटक हिमालको वास्तविक पहिचान र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सम्बन्धित भूगोलमै पुगेर आयोजना गरिएको हो।
धवलागिरि गाउँपालिकाको समन्वय तथा टान गण्डकीको आयोजनामा भएको यो ऐतिहासिक समारोहले म्याग्दीको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ।
सन् १९६० मे १३ तारिखका दिन अस्ट्रियाका पर्वतारोही कुर्ट डिम्बर्गरको नेतृत्वमा पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले पहिलोपटक धवलागिरिको सफल आरोहण गरेका थिए।
सोही ऐतिहासिक दिनको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनमन्त्री यशोदा रिमालसहित जनप्रतिनिधि र पर्यटन क्षेत्रका अगुवाहरूलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए।
मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीका अनुसार आफ्नै गाउँमा यसरी राष्ट्रियस्तरको दिवस मनाइँदा स्थानीयमा खुसी छाएको छ भने यसले धवलागिरि चक्रीय पदमार्ग र आसपासका क्षेत्रको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्वतारोहणको क्षेत्रमा धवलागिरि हिमाललाई निकै चुनौतीपूर्ण र साहसिक मानिन्छ। टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले यहाँको कठिन भूबनोट र छिनछिनमा परिवर्तन भइरहने मौसमका कारण आरोहण जोखिमपूर्ण भए पनि विश्वभरका पर्वतारोहीका लागि यो मुख्य आकर्षणको केन्द्र रहेको बताए।
६६ वर्षको अवधिमा सात सयभन्दा बढीले यो हिमालको चुचुरो चुमिसकेका छन् भने यस वर्ष मात्रै सरकारले धवलागिरि आरोहणबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। यस याममा चारवटा समूहका ३० जना आरोहीले अनुमति लिएर आफ्नो यात्रा अघि बढाएका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले धवलागिरि हिमालको पर्यटकीय क्षमतालाई अझै पनि पूर्ण रूपमा उपयोग गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्दै अबका दिनमा हिमाल आरोहणसँगै जोडिएका बस्तीहरूको विकास र पदयात्रा पर्यटनमा जोड दिनुपर्ने बताए।
आरोहण दिवसको अवसरमा मुदीमा पर्वतारोहीहरूको सम्मान र अन्तरसंवाद कार्यक्रम समेत आयोजना गरिएको छ। सरकार र निजी क्षेत्रको संयुक्त पहलमा आयोजित यस कार्यक्रमले धवलागिरि क्षेत्रलाई विश्वभर थप चिनाउन र साहसिक पर्यटनको गन्तव्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।







डिसी नेपाल







Facebook Comment