भारतद्वारा सुन, चाँदी र प्लाटिनमको आयात शुल्कमा भारी वृद्धि, १५ प्रतिशत पुर्याइयो
नयाँदिल्ली। भारत सरकारले आफ्नो विदेशी मुद्रा सञ्चिति सुरक्षित राख्न र अर्थतन्त्रलाई बाह्य जोखिमबाट जोगाउन सुन, चाँदी र प्लाटिनम जस्ता बहुमूल्य धातुको भन्सार शुल्कमा उल्लेख्य वृद्धि गरेको छ।
पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र त्यसले विश्व अर्थतन्त्रमा पारेको दबाबका बीच भारतीय अर्थ मन्त्रालयले यस्तो कदम चालेको हो। नयाँ व्यवस्था अनुसार सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ भने प्लाटिनमको शुल्क १५.४ प्रतिशत कायम गरिएको छ।
पछिल्लो समय कच्चा तेलको मूल्यमा देखिएको अस्थिरता र अन्तर्राष्ट्रिय ढुवानी मार्गमा उत्पन्न अवरोधका कारण भारतको चालु खाता घाटा बढ्ने जोखिम देखिएको छ।
यस्तो अवस्थामा अत्यावश्यक नभएका वस्तुको आयात नियन्त्रण गरी विदेशी मुद्रालाई कच्चा तेल, मल, रक्षा सामग्री र अत्याधुनिक प्रविधि जस्ता अनिवार्य आवश्यकताका लागि बचाउनु सरकारको मुख्य उद्देश्य रहेको अधिकारीहरूले बताएका छन्।
सुन-चाँदी सांस्कृतिक रूपमा महत्त्वपूर्ण भए पनि यसको ठूलो आयातले विदेशी मुद्रा बाहिरिने हुँदा यसलाई नियन्त्रण गर्न खोजिएको हो।
यो निर्णयले सन् २०२४/२५ को बजेटमार्फत दिइएको शुल्क कटौतीको सहुलियतलाई पूर्ण रूपमा उल्टाएको छ। सरकारले यस कदमलाई प्रतिबन्धात्मक नभई “सन्तुलित र सावधानीपूर्वक गरिएको हस्तक्षेप” भनेको छ। भ
विष्यमा आर्थिक अवस्था सहज भएमा यो शुल्क पुनः परिमार्जन हुन सक्ने सम्भावनालाई पनि खुला राखिएको छ। प्रधानमन्त्रीको आर्थिक अनुशासन र अनावश्यक खर्च घटाउने नीति अनुरूप नै यो दीर्घकालीन महत्वको निर्णय लिइएको मन्त्रालयको दाबी छ।







डिसी नेपाल







Facebook Comment