मल अभाव र सीमा क्षेत्रका किसानका समस्याबारे सांसद खनालद्वारा सरकारको ध्यानाकर्षण

डिसी नेपाल
३० वैशाख २०८३ १२:४०

काठमाडाैं। प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम खनालले किसानहरूले भोग्नुपरेका विविध समस्या समाधानका लागि सरकारसँग जोडदार माग गरेका छन्।

विशेषगरी वर्षात्को समय सुरु भइसक्दा पनि खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको उपलब्धता नभएको भन्दै उनले सरकारको तीव्र आलोचना गरे। किसानहरूले समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने र खाद्य सुरक्षामा समेत असर पर्ने उनको भनाइ थियो।

सांसद खनालले उखु किसानहरूले वर्षौँदेखि खेपिरहेको भुक्तानीको समस्यालाई पनि संसद्मा उठाएका छन्।

चिनी मिलमा आफ्नो पसिनाको मूल्य माग्न जाँदा सधैँ ‘भोलि’ भन्ने जवाफ पाउने तर त्यो भोलि कहिल्यै नआउने तितो यथार्थ सुनाउँदै उनले किसानहरू उद्योगीबाट ठगिएको उल्लेख गरे। सरकारले उखु किसानका समस्यालाई बेवास्ता गरेको भन्दै उनले तत्काल बक्यौता भुक्तानीको व्यवस्था मिलाउन माग गरे।

त्यसैगरी, सीमावर्ती क्षेत्रका किसानहरूले बैंकिङ सेवामा भोग्नुपरेको एउटा अनौठो र गम्भीर समस्याबारे पनि उनले सदनलाई जानकारी गराए। सीमा नजिकैको जग्गा धितो राखेर ऋण लिन खोज्दा बैंकहरूले ‘गुगल म्यापमा यो जग्गा भारतमा देखिन्छ’ भन्ने बहाना बनाएर ऋण नदिने गरेको उनले खुलाए।

आफ्नै देशको जग्गामा ऋण नपाएपछि किसानहरू चर्को ब्याजमा साहुसँग ऋण लिन बाध्य भएको र यसले गर्दा उनीहरू मिटरब्याजको चक्रव्यूहमा फसेको उनले बताए।

सांसद खनालले यस्ता संवेदनशील विषयहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सेवा प्रवाहलाई सुस्त र झन्झटिलो नबनाउन आग्रह गरे।

सीमासम्बन्धी प्राविधिक र कूटनीतिक समस्या समाधान गर्दै किसानहरूलाई आफ्नै माटोमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउन र मुलुकमा सुशासनको अनुभूति दिलाउन उनले माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *