गौर नगरपालिकाद्वारा अवैध संरचनामाथि डोजर: सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा भत्काइँदै
रौतहट। रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित, स्वच्छ र सुन्दर बनाउने उद्देश्यका साथ सार्वजनिक जग्गा तथा सडक मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरेको छ।
नगरपालिकाले बजार क्षेत्र र विभिन्न वडाहरूमा सार्वजनिक बाटो, नाला र ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा र अन्य भौतिक संरचनाहरूमाथि डोजर चलाउन थालेको हो।
नगरपालिकाले यी संरचनाहरू हटाउन एक महिनाअघि नै सार्वजनिक सूचना जारी गरेको थियो। स्थानीय प्रशासन र नगरपालिकाले पटक-पटक लिखित तथा मौखिक रूपमा आग्रह गर्दा पनि स्थानीयले स्वतःस्फूर्त रूपमा संरचना नहटाएपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको नगर प्रशासनले जनाएको छ।
नगर प्रहरी प्रमुख आर.पी. साहका अनुसार पर्याप्त समय र अवसर दिँदा पनि सूचनाको बेवास्ता गरिएपछि नगर प्रहरीको नेतृत्वमा ‘एक्सन’ लिइएको हो।
यस अभियान अन्तर्गत विशेष गरी सवारी साधन र पैदल यात्रीलाई अवरोध पुर्याउने गरी सडकको दायाँ-बायाँ बनाइएका संरचनाहरू भत्काइएका छन्। यसै क्रममा ऐतिहासिक तथा धार्मिक महत्त्वको रामजानकी मठको जग्गा कब्जा गरेर बनाइएका अवैध टहराहरू समेत पूर्ण रूपमा हटाइएको छ।
लामो समयदेखि सडक खण्ड ओगटेर राखिएका संरचनाका कारण सडक साँघुरो भई दुर्घटनाको जोखिम बढेको र बजार कुरूप देखिएको भन्दै स्थानीय स्तरबाट व्यापक जनगुनासो आउने गरेको थियो।
नगरपालिकाले अवैध संरचना हटाउने क्रममा मानवीय पक्षलाई पनि ध्यान दिने नीति लिएको छ। अभियानका कारण विस्थापित हुन सक्ने वास्तविक भूमिहीन, सुकुम्वासी र असहाय परिवारहरूको पहिचान गरी उनीहरूलाई उचित ठाउँमा व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।
तर, भूमिहीनको नाममा व्यापारिक स्वार्थका लागि सार्वजनिक जग्गा कब्जा गर्ने र नगरको विकासमा बाधा पुर्याउने कार्यलाई भने कडा रूपमा नियन्त्रण गरिने पालिकाको स्पष्ट धारणा छ।
नगरलाई व्यवस्थित बनाउने यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र सडक मिच्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने नगर प्रशासनले जानकारी दिएको छ। नगरपालिकाले आफ्ना संरचनाहरू आफैँ व्यवस्थापन गरेर सहरलाई सुन्दर बनाउने अभियानमा सहयोग गर्न सम्पूर्ण नगरवासीहरूलाई अपिल समेत गरेको छ।







डिसी नेपाल







Facebook Comment