राष्ट्रिय सभामा जनसरोकारका मुद्दा: मूल्यवृद्धि नियन्त्रणदेखि सुकुम्वासी व्यवस्थापनसम्म सांसदको माग

डिसी नेपाल
३० वैशाख २०८३ १४:२५

काठमाडौं। राष्ट्रिय सभाका सांसदहरूले मुलुकमा बढ्दै गएको मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना र सुकुम्वासी समस्याको स्थायी समाधानका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनजीविकासँग जोडिएका सवाल, जातीय विभेदको अन्त्य र रुग्ण उद्योगहरूको पुनरुत्थानमा सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा सांसद कमला पन्तले मुलुकको औद्योगिक गौरवका रूपमा रहेको गोरखाली रबर उद्योग वर्षौँदेखि बन्द रहेको उल्लेख गर्दै यसलाई पुनः सञ्चालन गर्ने सरकारको तयारी र योजनाबारे स्पष्ट जवाफ माग गरिन्।

त्यस्तै, सांसदहरू जयन्ती राई र दुर्गा गुरुङले सुकुम्वासी समस्यालाई मानवीय र दीर्घकालीन दृष्टिकोणले समाधान गर्नुपर्ने धारणा राखे। उनीहरूले अतिक्रमण हटाउने क्रममा वास्तविक सुकुम्वासी विस्थापित हुन नहुने र उनीहरूको उचित व्यवस्थापन सरकारको दायित्व भएको बताए।

वैदेशिक रोजगारीको बाध्यतालाई अन्त्य गरी स्वदेशमै युवाहरूलाई आकर्षण गर्ने ठोस योजना ल्याउन सांसद नरबहादुर विष्टले माग गरे।

नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि सरकारको प्रतिबद्धता खोज्दै सांसद नारायणदत्त मिश्रले आवाज उठाए भने सांसद भुवनबहादुर सुनारले समाजमा अझै कायमै रहेको जातीय विभेद र छुवाछूतका घटना नियन्त्रणमा कडा कानुन कार्यान्वयन गर्न आग्रह गरे।

सांसद मदनकुमारी शाह (गरिमा) ले संसद्को गरिमा र यसको सार्वभौमिकताको कसैले पनि अवमूल्यन गर्न नहुने धारणा व्यक्त गरिन्। सांसद युवराज शर्माले सुशासनको प्रत्याभूति र विकास निर्माणका कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।

स्वास्थ्य क्षेत्रको सुधारमा संवेदनशीलता अपनाउन सांसद राजेन्द्रलक्ष्मी गैरेले सुझाव दिइन् भने सांसद सोनाम गेल्जेन शेर्पाले सिंहदरबार जस्तो संवेदनशील क्षेत्रभित्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *