मेयरको व्यक्तिगत स्वार्थले लम्कीचुहा अस्पतालको काम रोकियो : मन्त्री खड्का

डिसी नेपाल
३१ वैशाख २०८३ १४:५७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा नगरपालिकाकी मेयर शुशिला शाहीले लम्कीचुहा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्ने नियतले अस्पताल सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाएका छन्।

बिहीबार पत्रकार सम्मेलनमार्फत बोल्दै मन्त्री खड्काले अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने प्रक्रिया कानुनी तथा संघीय सरकारको स्वीकृतिअनुसार अघि बढाइएको स्पष्ट पारे।

उनले २०८१ साल असोज १७ गते आधारभूत अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको र २०८२ साल जेठ २६ गते मन्त्रिपरिषद् स्तरीय निर्णयबाट औपचारिक स्वीकृति प्राप्त भएको जानकारी दिए।

मन्त्री खड्काका अनुसार प्रदेश सरकारले अस्पताल सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन गरिसकेको छ। यसक्रममा लम्कीचुहा नगरपालिकालाई तीन पटकसम्म औपचारिक पत्राचार गरिए पनि आवश्यक सहयोग नपाएको उनले बताए।

उनले मेयर शाहीप्रति संकेत गर्दै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वयं बन्ने चाहनाका कारण प्रक्रिया अवरुद्ध गरिएको दाबी गरे। “कानुनअनुसार यस्तो व्यवस्था नभएकाले प्रदेश सरकारले योग्य र प्रक्रियाअनुसार व्यक्तिलाई व्यवस्थापन समितिमा चयन गरेको हो,” मन्त्री खड्काले भने।

अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले ४ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उल्लेख गर्दै उनले उक्त बजेट सेवा विस्तार, व्यवस्थापन तथा पूर्वाधार विकासमा खर्च गरिने बताए।

मन्त्री खड्काले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रस्ताव स्वयं नगरपालिकाकै मागअनुसार अघि बढाइएको दाबी गर्दै सबै पक्षलाई सहकार्यका लागि आग्रह गरे। उनले व्यक्तिगत स्वार्थका कारण नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने स्पष्ट पारे।

उनले आम नागरिकको आवश्यकता केन्द्रमा राख्दै लम्कीचुहा अस्पताललाई थप विस्तार गरी गुणस्तरीय प्रादेशिक अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *