त्रिविको निमित्त उपकुलपतिमा प्रा. डा. सुशीलबहादुर बज्राचार्य नियुक्त

डिसी नेपाल
३१ वैशाख २०८३ १५:१७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)का डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।

सरकारले जारी गरेको नयाँ अध्यादेशका कारण विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई यो जिम्मेवारी तोकेका हुन्।

यसअघि, अध्यादेश जारी हुने प्रक्रिया अघि बढेसँगै त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालले आफ्नो पदबाट राजीनामा दिएका थिए।

उनीसँगै शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएपछि विश्वविद्यालय पूर्ण रूपमा पदाधिकारीविहीन बनेको थियो। सोही रिक्ततालाई पूर्ति गर्दै प्रशासनिक र शैक्षिक कार्यलाई निरन्तरता दिन कुलपति प्रधानमन्त्री शाहले निमित्त उपकुलपति नियुक्त गरेका हुन्।

यसैबीच, विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ। उपकुलपतिको लागि आवेदन दिन १० दिनको समय दिइएको छ।

नयाँ उपकुलपति चयन नहुँदासम्मका लागि प्रा. डा. बज्राचार्यले नै निमित्तका रूपमा विश्वविद्यालयको कार्यभार सम्हाल्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *