हेटौंडा-पथलैया खण्डको ३ नम्बर पुलमा वन कार्यालयले चलायो डोजर

डिसी नेपाल
१ जेठ २०८३ १४:५६

रौतहट। डिभिजन वन कार्यालय बाराले त्रिभुवन राजपथको हेटौंडा-पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्तीमा डोजर चलाएर खाली गराएको छ।

पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको प्राविधिक सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँ वर्षौंदेखि रहँदै आएका घरटहरा र पसलहरू भत्काएको हो।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने नियमित अभियान अन्तर्गत नै यो कदम चालिएको जानकारी दिए। यसअघि पटक-पटक माइकिङ र लिखित सूचनामार्फत आग्रह गर्दा पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको वन कार्यालयको दाबी छ।

यता राज्यको यस कदमप्रति विस्थापित व्यवसायीहरूले भने कडा आक्रोश पोख्दै आफूहरूमाथि अन्याय र दमन भएको आरोप लगाएका छन्। दुई हप्ताअघि सडक विभागले जारी गरेको सूचनाका आधारमा आफूहरूले त्रिभुवन राजपथको दुवैतर्फ २५-२५ मिटरको सडक सीमा आफैं खाली गरिसकेको उनीहरूको भनाइ छ।

सडकको क्षेत्राधिकार बाहिर रहेर व्यवसाय गरिरहेकै अवस्थामा राज्यले कुनै थप समय नै नदिई ज्यादतीपूर्ण तरिकाले टहरा समेत भत्काइदिएको र यसबाट आफूहरूलाई ठूलो आर्थिक क्षति पुगेको गुनासो स्थानीयले गरेका छन्।

त्रिभुवन राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि भरपर्दो विश्रामस्थल र ‘हब’का रूपमा परिचित ३ नम्बर पुल क्षेत्रमा विगत २०४५ सालदेखि ७० भन्दा बढी होटलहरू सञ्चालनमा थिए।

वर्षौंदेखि चल्दै आएको यो चल्तीको बजार पूर्ण रूपमा उठाइए पछि यसमा आश्रित स्थानीय परिवारहरूको रोजीरोटी पूर्ण रूपमा गुमेको छ र उनीहरू आफ्नो जीविकोपार्जनलाई लिएर गम्भीर चिन्तामा परेका छन्।

यता वन कार्यालयले भने सार्वजनिक तथा संरक्षित क्षेत्र अतिक्रमण गर्ने कार्य कानुन विपरीत हुने भन्दै आगामी दिनमा पनि यस्ता क्षेत्रहरू खाली गराउने अभियानलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *