कविता : प्रतिघात
रोएर आँसु सकिए पछि
आँखाहरु उदास रहे
जीवनको कुनै अर्थ नभेटे पछि
म मरेर बाँचिरहे
मलाई घात गर्नेहरु
मेरो सर्वस्व लुटिदा
ताली बजाएर बसि रहे।
मैले त तिनीहरुको भलो चिताएकै थिएँ
मैले लगाएको गुन बिर्सेर
तिनीहरु स्वार्थले जलिरहेका थिए
मेरो नाम बदनाम गरेर
खुट्टा तान्नेहरु
खुट्टा तानिरहेका थिए।
म भीषण परिवर्तन चहाने मान्छे
मेरो दर्शन पढ्दै नपढी
बुज्रुकहरु मलाई आरोपित गर्छन
समभावको विरोध गर्दै
प्रतिगमनकारीको जय गान गाउँछन्
म अग्रगमनको कुरा गर्छु
तिनीहरु मलाई अधर्मी भन्छन।
म अनिकालसँग लडिरहेको छु
म आवाज विहीनहरुको आवाज उठाइ रहेको छु
म नाङ्गा आङहरुको न्याय खोजिरहेको छु
मलाइ नजरबन्द गरिएको छ
म मानव अधिकारको कुरा उठाइरहेको छु।
मेरो वाक स्वतन्त्रतामा अवरोध हालेर
मेरो बिचार कैदमा राखिएको छ
मेरो बिचार बिद्रोह हो
बिद्रोहले तिनीहरुलाई भत्भति पोलेको हुन सक्छ।
सत्ता जोगाउने हेतुले
तिनीहरु नरसंहार गर्छन्
बग्छ रगतको खोलो
थपिन्छन् शहीदहरुका नाम
रित्तिन्छन् काखहरु
पुछिन्छ सिउँदो
आमाहरुको चित्कार सुनेर
समय क्रान्तिको आह्वान गर्छ
म क्रान्तिमा सामेल हुन्छु
मैले जित्नु छ न्यायको लडाई
लेख्नु छ इतिहास
रगतका थोपाहरुले।
रित्तिएको छैन आँसु
उदास छैनन् आँखाहरु
म जिन्दगीको अर्थ खोजिरहेछु
म बाँचेर बाँच्न चाहन्छु
मलाई घात गर्नेहरु
होशियार !
म प्रतिघात गरिरहेछु।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ















Facebook Comment