जन्मदिनमै सगरमाथाको चुचुरो चुम्ने लक्ष्य: अष्ट्रेलियाबाट आधार शिविर पुगेर सरोज अर्याल गर्दै छन् तयारी
काठमाडौं। हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्याल आफ्नै जन्मदिनको विशेष अवसर पारेर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने अठोटका साथ अहिले आधार शिविर (बेसक्याम्प) मा तीव्र तयारी गरिरहेका छन्। योजना अनुसार मौसमले साथ दिएमा उनी आगामी मे १९ मंगलबारका दिन सगरमाथाको शीर्ष विन्दुमा पाइला टेक्ने लक्ष्यका साथ हिमाल आरोहणपूर्वको अभ्यासमा व्यस्त छन्।
लामो समयदेखि विदेशमा रहे पनि आफ्नो देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी आरोहीहरूको बाहुल्यता देखेपछि आफूलाई हिमाल चढ्ने प्रेरणा मिलेको सरोज बताउँछन्। सगरमाथाको आधार शिविर पुगेपछि त्यहाँको माहोल र विदेशीहरूको उत्साह देखेर आफू निकै प्रभावित भएको उनले उल्लेख गरे। नेपाल आफ्नै देश भए पनि आरोहणका लागि आएकाहरूमा विदेशीहरूको संख्या धेरै देख्दा उनलाई अचम्म लागेको थियो।
त्यहाँ भेटिएका विदेशी आरोहीहरूसँगको कुराकानी स्मरण गर्दै सरोजले भने, “मैले यहाँ सगरमाथा चढ्न आएका धेरैजसो विदेशीहरू भेटेँ। आफ्नो देशको सगरमाथा भए पनि नेपालीभन्दा विदेशी धेरै देखेपछि मैले उनीहरूलाई यहाँ आउनुको कारण सोधेको थिएँ। सबैले संसारको सबैभन्दा अग्लो स्थानबाट धर्ती हेर्दा कस्तो देखिन्छ भन्ने अनुभव लिन आएको प्रतिक्रिया दिए। त्यसपछि मलाई पनि नेपाली हुनुको नाताले जीवनमा एकपटक सगरमाथा चढ्नैपर्छ भन्ने लाग्यो र यो यात्रा तय गरेँ।”
हालसम्मको पदयात्रा सहज र उत्साहजनक रहे पनि वास्तविक चुनौती अब सुरु हुने कुरामा सरोज निकै सचेत छन्। भर्खरै खुम्बु आइसफलको बाटो खुलेकाले अब क्याम्प वानतर्फको यात्रा बढी जोखिमपूर्ण र चुनौतीपूर्ण हुनसक्ने उनको भनाइ छ। हिमालको अनपेक्षित मौसम र प्राकृतिक चुनौतीहरूको सामना गर्नका लागि आफूहरूले अहिले बेसक्याम्पमै आवश्यक र कडा शारीरिक एवं प्राविधिक प्रशिक्षण लिइरहेको उनले जानकारी दिए।
यो सगरमाथा आरोहण यात्रा सरोजका लागि जीवनकै सबैभन्दा ऐतिहासिक, साहसिक र स्मरणीय क्षण बन्ने निश्चित छ। हाल ३० वर्ष पुगेका सरोजको आगामी मे १९ मा जन्मदिन पर्दछ। उनले आफ्नो योजना र सपनालाई केन्द्रमा राख्दै जन्मदिनकै दिन सगरमाथाको चुचुरोमा पुगेर उत्सव मनाउने लक्ष्य राखेका छन्। “मे १९ मा मेरो जन्मदिन हो, यदि सबै परिस्थिति अनुकुल रहे र सोचेअनुसार काम बन्दै गएमा सोही दिन सगरमाथाको शिखरमा पुग्ने हाम्रो मुख्य लक्ष्य छ,” उनले उत्साहका साथ बताए।







डिसी नेपाल







Facebook Comment