मध्यपूर्वमा पुनः युद्धको बादल: अमेरिका-इजरायलको सैन्य तयारी तीव्र, इरानद्वारा गम्भीर प्रतिशोधको चेतावनी

डिसी नेपाल
३ जेठ २०८३ १०:०६

तेहरान। मध्यपूर्वमा जारी तनावका बीच इरान, अमेरिका र इजरायलबीच पुनः नयाँ युद्ध सुरु हुन सक्ने सम्भावना बढेर गएको छ। इरानी उच्च अधिकारीहरूले अमेरिका र खाडी मुलुकहरूलाई सम्भावित सैन्य टकरावबारे कडा चेतावनी दिएका छन्।

इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मोखबरले खाडी देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूमा हालै गरिएका इरानी आक्रमणहरूलाई स्मरण गराउँदै आफूहरूले अहिलेसम्म प्रदर्शन गरेको संयमता सधैँभरि कायम नरहने स्पष्ट पारेका छन्।

उनले अमेरिकी केन्द्रीय कमान्डका अखडाहरूमा इरानले गरेको प्रतिशोधमूलक हमला अत्यन्तै संयमित भएको दाबी गर्दै खाडी मुलुकहरूले आफ्नो स्वतन्त्रता बेचेर आफ्नो भूभाग प्यालेस्टाइन र इरानका शत्रुहरूलाई सुम्पिएको आरोप समेत लगाएका छन्।

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयसँग सम्बद्ध सञ्चारमाध्यम नूर न्यूजले एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै इरानमाथि पुनः आक्रमण गरिए अघिल्लो ४० दिने युद्धका क्रममा जोगिएका स्थानहरू यसपटक प्राथमिक निसानामा पर्ने चेतावनी दिएको छ।

अर्कोतर्फ, न्यूयोर्क टाइम्सले मध्यपूर्वका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिका र इजरेलले इरानमाथि अर्को सम्भावित सैन्य कारबाहीको व्यापक तयारी गरिरहेको खुलासा गरेको छ। यो तयारी हालै भएको युद्धविरामयताकै सबैभन्दा ठूलो र व्यापक भएको बताइएको छ।

अमेरिकी रक्षामन्त्रीले पनि पेन्टागनले क्षेत्रमा आवश्यकता अनुसार पुनः युद्ध सुरु गर्ने वा सेना फिर्ता गर्नेसम्मका विभिन्न परिदृश्यमा आधारित योजनाहरू कङ्ग्रेस समक्ष पेस गरेको स्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य आदेश दिएमा इरानका सैन्य अड्डा र पूर्वाधारमा ठूलो बमबारी गर्ने वा यसअघिको बाह्र दिने युद्धका क्रममा भग्नावशेषमुनि पुरिएको विश्वास गरिएको इरानको प्रशोधित युरेनियम भण्डारलाई पूर्ण रूपमा नष्ट गर्न स्थलगत कारबाही (ग्राउन्ड अपरेसन) गर्ने दुई विकल्पमाथि अमेरिकाले विचार गरिरहेको बुझिएको छ।

राष्ट्रपति ट्रम्पको हालै सम्पन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको भेटवार्तापछि यो सैन्य तनाव थप रहस्यमय बनेको छ। चीन प्रस्थान गर्नुअघि ट्रम्पले अमेरिकासँग सम्झौता नगरे इरान “ध्वस्त” हुने धम्की दिएका थिए भने इरानसँगको युद्धविराम अत्यन्तै कमजोर बनेको टिप्पणी गरेका थिए।

ट्रम्पको उक्त अभिव्यक्तिपछि इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले इरानी सशस्त्र सेना जुनसुकै आक्रमणको सामना गर्न र विपक्षीलाई चकित पार्न पूर्ण रूपमा तयार रहेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत जवाफ दिएका छन्।

यही गम्भीर परिस्थितिका बिच, इरान र अमेरिकाबीच जारी युद्धविरामको मुख्य मध्यस्थकर्ता रहेको पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अचानक र पूर्व सूचनाबिना नै तेहरान पुगेका छन्।

बीबीसी पर्सियन र इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार नक्वीले तेहरानमा उच्च इरानी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पाकिस्तानले यसअघि इस्लामाबादमा दुवै देशका अधिकारीहरूबीच शान्तिवार्ता गराए पनि हाल बढ्दो मतभेदका कारण दोस्रो चरणको वार्ता अवरुद्ध बनेको छ।

यसै क्रममा, इरानले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा आफ्नो बलियो पकड कायम राखेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरेलसँग युद्ध सुरु भएयता इरानले यो जलमार्ग लगभग बन्द अवस्थामा राखेको छ, जसका कारण विश्वव्यापी तेल र ग्यास बजार नराम्ररी प्रभावित भएको छ।

अन्तर्राष्ट्रिय तेल र तरलीकृत प्राकृतिक ग्यास निर्यातको करिब पाँचौँ हिस्सा ओगट्ने यस जलमार्गबाट आफ्ना जहाजहरू सुरक्षित रूपमा आउजाउ गराउनका लागि अहिले युरोपेली देशहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग गोप्य वार्ता सुरु गरेको इरानी सरकारी टेलिभिजनले दाबी गरेको छ। चीन, जापान र पाकिस्तानका जहाजहरूले यो मार्ग प्रयोग गरिरहेको पृष्ठभूमिमा युरोपेली मुलुकहरूले पनि अनुमति लिन कूटनीतिक कसरत थालेको बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *