६१ महिलामाथि यौन दुर्व्यवहारको आरोपमा अष्ट्रेलियामा मसाज थेरापिस्टलाई १३ वर्ष कैद
काठमाडौं । अष्ट्रेलियामा भारतीय मूलका एक मसाज थेरापिस्टलाई ६१ जना महिला ग्राहकहरूमाथि यौन दुर्व्यवहार गरेको गम्भीर अभियोगमा १३ वर्ष १० महिनाको जेल सजाय सुनाइएको छ।
अदालतले सुनुवाइका क्रममा अभियुक्तले व्यावसायिक मर्यादा विपरीत महिलाहरूको विश्वासको गम्भीर दुरुपयोग गरेको र मसाज गर्ने बहानामा आपत्तिजनक एवं गैरकानुनी कार्य गरेको ठहर गरेको छ।
अदालती अधिकारीहरूका अनुसार ३९ वर्षीय अभियुक्त सुमित सतीश रस्तोगी सन् २०११ मा भारतको नयाँ दिल्लीबाट अष्ट्रेलिया आएका थिए। उनले अक्टोबर २०२१ देखि जुलाई २०२२ को अवधिमा मसाज पार्लरमा आउने महिलाहरूलाई आफ्नो शिकार बनाएका थिए।
रस्तोगीले महिलाहरूको अनुमति बिना गोप्य भिडियो खिचेको र यौन दुर्व्यवहार गरेको लगायत आफू विरुद्ध दर्ता भएका ९७ वटा विभिन्न अभियोगहरूमा अदालतसमक्ष आफ्नो अपराध स्वीकार गरेका थिए।
अदालतले फैसलाका क्रममा अभियुक्तको आपराधिक प्रवृत्तिको व्याख्या गर्दै उल्लेख गरेको छ – सुरुवाती चरणमा उनका गतिविधिहरू सीमित दायरामा भए तापनि समयक्रमसँगै उनको व्यवहार थप गम्भीर, अनियन्त्रित र भयानक बन्दै गएको थियो।
सुनुवाइको नेतृत्व गरिरहेका न्यायाधीशले पीडित महिलाहरू स्वास्थ्य उपचार, मानसिक शान्ति र सान्त्वनाका लागि उनीकहाँ पुगेको स्मरण गराउँदै अभियुक्तले उनीहरूको विश्वास र सुरक्षा भावनाको क्रुरतापूर्वक दुरुपयोग गरेको टिप्पणी गरे।
कानुनी बहस र अनुसन्धानका क्रममा सुमितसँग मसाज थेरापीसम्बन्धी कुनै पनि आधिकारिक वा व्यावसायिक योग्यता नभएको तथ्य समेत उजागर भएको छ।
अदालतले रस्तोगीलाई सुनाइएको उक्त कैद सजाय भुक्तान गरेलत्तै उनलाई अष्ट्रेलियाको कानुन बमोजिम देशबाट निष्कासन गर्न सकिने फैसला समेत सुनाएको छ।







डिसी नेपाल







Facebook Comment