चीनमा शक्तिशाली भूकम्प, २ को मृत्यु १ बेपत्ता
काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र ग्वाङ्सीमा सोमबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
चीनको भूकम्प नेटवर्क केन्द्र (सीइएनसी) का अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२:२१ बजे ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझाउ सहरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। जमिनको सतहबाट करिब ८ किलोमिटर मात्र गहिराइमा सानो केन्द्रविन्दु भएर गएको यस भूकम्पले उक्त क्षेत्रमा ठुलो धक्का महसुस गराएको थियो।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण लिउझाउ सहरमा कम्तीमा १३ वटा भवनहरू भत्किएका छन्। थप जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका ७ हजारभन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
भूकम्प लगत्तै स्थानीय प्रशासनले व्यापक रूपमा खोजी तथा उद्धार कार्य सुरु गरेको छ। बेपत्ता एक जनाको खोजी र उद्धारका लागि ५१ वटा दमकल तथा उद्धार सवारी साधनसहित ३०० भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरिएको जनाइएको छ। घटनामा घाइते भएका अन्य चार जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ, यद्यपि उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ।
भूकम्पका कारण रेलमार्ग लगायतका यातायात पूर्वाधारमा क्षति पुगेको आशंकामा प्राविधिक जाँचका लागि रेल सेवाहरू केही समयका लागि अवरुद्ध गरिएको छ। यातायात सेवामा अवरोध पुगे तापनि प्रभावित क्षेत्रमा सञ्चार, विद्युत्, खानेपानी तथा ग्याँस जस्ता अत्यावश्यक सेवाहरू भने सुचारु रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।







डिसी नेपाल







Facebook Comment