विचार र आचरणको खाडल: नारामा आदर्श, व्यवहारमा स्खलन

शंकरप्रसाद रिजाल
९ जेठ २०८३ ६:५२

संसारमा अरबौँ मानिस छन् र जति मानिस छन्, त्यति नै भिन्न विचार, दृष्टिकोण, भोगाइ र बुझाइहरू छन्। मानव समाजमा विभिन्न विधा, दर्शन र क्षेत्रका विचार बोक्ने मानिसहरूको बाहुल्यता मात्र छैन, बरु विचारकै विविधताले यो संसार रंगिन र चलायमान बनेको छ।

विचारकै आधारमा समाजको वर्गीकरण हुने गर्दछ। कोही कट्ट राजनीतिक विचारधारामा प्रतिबद्ध छन्, कोही जटिल आर्थिक सिद्धान्तका व्याख्या र विष्लेषण गर्न व्यस्त छन्, कोही आध्यात्मिक एवं धार्मिक मार्गमा लीन भएर जीवनको अर्थ खोज्दै छन् त कोही गहन दार्शनिक चिन्तनमा डुबेर ब्रह्माण्डको रहस्य सुल्झाउन तल्लीन छन्।

विचारको यही बहुआयामिकता र विविधतामा मानव सभ्यता टिकेको छ, यसको विकास भएको छ भन्दा कतिपय अर्थमा अतिशयोक्ति हुँदैन । मानव इतिहासका हरेक क्रान्ति, परिवर्तन र रुपान्तरणका पछाडि कुनै न कुनै बलियो विचारको ठूलो भूमिका रहेको हुन्छ।

तर, आधुनिक मानव समाजको सबैभन्दा ठूलो विडम्बना के छ भने, आफूले बोकेको विचारधारा वा सिद्धान्त अनुसारको आचरण र अनुसरण गर्ने मानिसहरू आजको संसारमा पाउन निकै मुस्किल छ।

विचार आफैंमा जीवन्त तब मात्र हुन्छ जब त्यसलाई व्यवहारमा उतारेर समाजमा उदाहरणीय पात्र बन्न सकिन्छ । तर इतिहासदेखि वर्तमानसम्मका दार्शनिक, राजनीतिज्ञ, अर्थशास्त्री, मनोविद, नेता, शासक, धर्मगुरु, सन्त-महन्त, व्यापारी, उद्योगपति, अर्बपति, राष्ट्रपति वा राजा-जोसुकै किन नहोऊन्, उनीहरूले ओकल्ने आदर्श, लेख्ने ठेली र उनीहरूको वास्तविक व्यवहार (अनुसरण) बीच जहिले पनि एउटा ठूलो र गहिरो खाडल देखिँदै आएको छ।

मञ्चमा उभिएर देश, जनता, नैतिकता र इमानदारिताका लामा-लामा भाषण दिने ओठहरू जब व्यवहारको कसीमा घोटिन्छन्, तब त्यहाँ केवल स्वार्थ, संकीर्णता र कपट मात्रै फेला पर्ने गरेको छ ।

राजाहरूको इतिहासलाई मात्र हेर्ने हो भने पनि संसारमा कस्ता-कस्ता शक्तिशाली, वैभवशाली र निरङ्कुश शासकहरू आए । उनीहरूले आफूलाई भगवानको अवतार घोषणा गरे, कानुनभन्दा माथि राखे र राज्यको सम्पूर्ण शक्ति आफ्नो मुठ्ठीमा कैद गरे।

तर, आफ्नै कुशासन, जनभावना विपरीतको क्रूर आचरण र असीमित अहंकारका कारण तीमध्ये कोही आफ्नै प्रजाहरूद्वारा मारिए, कोही अपमानजनक ढंगले सत्ताच्युत भए त कोही इतिहासको धुलोमा सधैँका लागि बिलाएर गए ।

आज संसारबाट राजतन्त्र धमाधम विलीन हुँदै जानु र लोकतन्त्रले जरा गाड्नुको मुख्य कारण शासकहरूले आफ्नो जिम्मेवारी, कर्तव्य र नैतिक आचरणको सही अनुसरण नगर्नु नै हो । जब शासकले जनतालाई रैती र आफूलाई सर्वोपरी ठान्न थाल्छ, तब उसको पतन निश्चित हुन्छ।

शक्तिमा हुँदा आफ्नो विचार र सिद्धान्तलाई बिर्सेर विलासिता र दमनमा उत्रिने राजाहरूको आचरणकै कारण आज संसारका अधिकांश मुलुकहरूबाट राजतन्त्र इतिहासको एउटा दराजमा थन्किन पुगेको छ ।

राजतन्त्र हटेर लोकतन्त्र वा गणतन्त्र आयो, तर शासकहरूको प्रवृत्तिमा खासै तात्विक परिवर्तन आउन सकेन। उस्तै र अझ कतिपय अवस्थामा त्योभन्दा भयावह रूप आधुनिक शासन व्यवस्थाका खम्बा मानिने राष्ट्रपति वा प्रधानमन्त्रीहरूको पनि देखिन थालेको छ।

कतिपय देशका राष्ट्रप्रमुखहरू आफ्नै अनुशासनहीनता, नातावाद, आर्थिक भ्रष्टाचार र असीमित सत्तालिप्साका कारण जनताद्वारा सडकमा लखेटिएका ताजा उदाहरणहरू हाम्रैसामु छन्।

कतिपय शासकहरू आफ्नै सेना वा विद्रोही समूहबाट मारिएका छन्, कोही ज्यान जोगाउन रातारात पराई देशमा भागेर शरण लिन पुगेका छन् त कतिपय आफ्नै देशमा अदालतको कठघरामा उभिएर नजरबन्द वा जेल जीवनको कारुणिक दिनहरू बिताउन बाध्य छन्।

यसको एउटै मुख्य र शाश्वत कारण हो-राजकीय सत्ता र शक्ति हातमा परेपछि जस्तोसुकै प्रतिज्ञा गरेर आएको व्यक्तिमा पनि अलिकति भए पनि घमण्ड र शक्तिको मात चढ्छ । “शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ र असीमित शक्तिले पूर्ण रूपमा भ्रष्ट बनाउँछ” भन्ने भनाइ यहाँ चरितार्थ हुन्छ।

चुनावअघि जनताको सेवक बन्ने कसम खाएका नेताहरू कुर्सीमा बस्नासाथ मालिक बन्ने दौडमा सामेल हुन्छन्। उनीहरूका विचार केवल सिद्धान्तका किताबमा मात्र सीमित हुन्छन्, व्यवहारमा त केवल शक्तिको दुरुपयोग र स्वार्थको संरक्षण मात्रै देखिन्छ।

यही शक्ति र शक्तिको मातले गर्दा आन्तरिक राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि ठूलो विकृति बढेको छ। विश्व शान्ति, मानव अधिकार र सार्वभौमसत्ताका ठूला कुरा गर्ने शक्तिशाली राष्ट्रहरू नै आज अशान्तिका मुख्य कारक बनिरहेका छन्।

एक शक्तिशाली र सम्पन्न राष्ट्रले अर्को निमुखा, गरिब र कमजोर राष्ट्रलाई विभिन्न बहानामा दबाब, प्रभाव वा सैन्य त्रासमा पारेर आफ्नो अधीनमा राख्ने चेष्टा गरिरहेको देखिन्छ।

भूराजनीतिक स्वार्थ, प्राकृतिक स्रोतसाधनको दोहन र साम्राज्यवादी सोचका कारण मौका पाउनासाथ छिमेकी वा कमजोर मुलुकको सार्वभौमसत्तामाथि धावा बोल्ने, अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै अर्काको भूभाग नै आफ्नो देशमा गाभ्ने जस्ता कठोर र अमानवीय कदम कतिपय शक्तिशाली राष्ट्रले विगतमा गरे त कतिपयले आजको विज्ञान र प्रविधिको अत्याधुनिक २१औँ शताब्दीमा पनि निर्धक्क रूपमा गरिरहेकै छन्। संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरू भाषण गर्ने र प्रस्ताव पारित गर्ने थलो मात्र बनेका छन्, व्यवहारमा जसको शक्ति उसैको भक्ति चलिरहेको छ।

फलस्वरूप, आज संसारभरि हत्या, हिंसा, युद्ध, शरणार्थी संकट, भय र त्रासको वातावरण फैलिरहेको छ। आधुनिक मानव जातिले भौतिक पूर्वाधार, विज्ञान, प्रविधि र चिकित्सा क्षेत्रमा अभूतपूर्व प्रगति त गर्‍यो, तर सद्भाव, भ्रातृत्व, सामञ्जस्यता र मिलिजुली बस्ने जुन प्राकृतिक आचरण र अनुसरण हुनुपर्थ्यो, त्यसलाई पूर्ण रूपमा भुलेको देखिन्छ । मानिस चन्द्रमा र मङ्गल ग्रहमा पुग्न सफल भयो, तर धर्तीमा सँगै बस्ने छिमेकीको मनमा पुग्न र उसको पीडा बुझ्न असफल भयो ।

हामीले हतियारको चाङ त बनायौँ, तर शान्तिको एउटा सानो बोट पनि रोप्न सकेनौं। आज संसारका कतिपय देशका अबोध बालबालिकाहरू भोक र बारुदको धुवाँबीच आफ्नो भविष्य खोजिरहेका छन्।

विचारको ठूलो युद्ध चलिरहेको छ, तर त्यो युद्धमा मानवता भने दिनदिनै पराजित भइरहेको छ । प्रकृतिले सिकाएको सहअस्तित्वको नियमलाई लत्याएर मानिस आफ्नै विनाशको खाडल खनिरहेको छ ।

सिद्धान्त र विधाकै कुरा गर्ने हो भने पनि, विश्वका ठूला-ठूला राजनीतिज्ञ, दार्शनिक र चिन्तकहरूले लोककल्याणकारी सिद्धान्तहरूको प्रतिपादन गरे। उनीहरूले समाजवाद, पुँजीवाद, साम्यवाद, उदारवाद जस्ता फरक र सुन्दर शासन प्रणालीको सूत्रपात गरे, जसको मूल उद्देश्य मानव जातिको हित र समानता नै थियो। धर्मगुरुहरूले करुणा, अहिंसा, दया र परोपकारका ठूला-ठूला ग्रन्थहरू लेखे र व्याख्या गरे।

तर, ती सुन्दर सिद्धान्त, उपदेश र सूत्रहरू पुस्तकका पुराना पाना र भाषणका भव्य मञ्चहरूमा जति सुनिन्छन् र पढिन्छन्, व्यावहारिक धरातलमा कतै लागू भएको देखिँदैन। साम्यवादका कुरा गर्नेहरू आफैं अभिजात वर्ग जस्ता विलासी भएका छन्, पुँजीवादका वकालत गर्नेहरूले गरिबको रगत पसिना सोसिरहेका छन् र धर्मको नाममा मानिसहरू काटामार गरिरहेका छन् ।

जबसम्म मानिसको विचार र व्यवहारबीचको यो दूरी मेटिँदैन, जबसम्म ओठले बोल्ने आदर्श र हातले गर्ने कर्मबीच तादात्म्यता मिल्दैन, तबसम्म संसारमा दिगो शान्ति, प्रगति र मानवताको रक्षा असम्भव प्रायः रहन्छ। संसारलाई परिवर्तन गर्न ठूला विचारको भन्दा पनि साना तर इमानदार आचरणहरूको खाँचो छ। विचार दिमागमा मात्र सजाउने चिज होइन, यसलाई त हृदयमा राखेर व्यवहारमा उतार्नुपर्छ।

जसरी एउटा ओभानो र सुक्खा बोटले छहारी दिन सक्दैन, त्यसैगरी आचरण र अनुसरण बिनाको विचारले पनि समाजलाई सही मार्गनिर्देश गर्न सक्दैन। त्यसैले, आजको विश्वलाई नयाँ विचारको खोजीभन्दा पनि भएका राम्रा विचारहरूको इमानदार अनुसरण र नैतिक आचरणको बढी आवश्यकता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *