भारतमा कक्रोच जनता पार्टीको एक्स ह्यान्डल बन्द

डिसी नेपाल
७ जेठ २०८३ १६:२१

काठमाडौं । सामाजिक सञ्जालमा निकै चर्चित बनेको ‘ककरोच जनता पार्टी’ अभियानका संस्थापक अभिजीत दीपकेले भारतमा आफ्नो आधिकारिक एक्स (ट्विटर) अकाउन्टमाथि प्रतिबन्ध लगाइएको दाबी गरेका छन्।

उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत भिडियो सन्देश जारी गर्दै भारत सरकार वा सम्बन्धित निकायले आफ्नो ट्विटर अकाउन्ट ब्लक गरेको जानकारी दिएका हुन्। दीपकेले भनेका छन्, “जुन कुराको डर थियो, त्यही भयो। पहिले उनीहरूले हाम्रो अकाउन्ट ह्याक गर्ने प्रयास गरे। जब ह्याक गर्न सकेनन्, तब भारतमा हाम्रो ट्विटर ह्यान्डल नै बन्द गरिदिए। तपाईंहरू सबैले ट्विटरमा गएर हेर्न सक्नुहुन्छ, ककरोच जनता पार्टीको आधिकारिक ट्विटर अकाउन्ट कसैलाई पनि देखाइरहेको छैन।”

आफ्नो बचाउ गर्दै उनले आफूहरूले कुनै पनि गलत वा कानुन विपरीत सामग्री पोस्ट नगरेको दाबी गरे। एक विद्यार्थीको आत्महत्याको विषयलाई लिएर आफूहरूले सम्बन्धित मन्त्रीको राजीनामा मात्र माग गरिरहेको स्पष्ट पार्दै उनले समर्थकहरूलाई यस कदमविरुद्ध आवाज उठाउन आग्रह गरे।

दीपकेले थपे, “म चाहन्छु कि तपाईंहरूले यस अन्यायका विरुद्ध आवाज उठाउनुहोस् र हाम्रो ट्विटर ह्यान्डल किन प्रतिबन्धित गरियो भनी प्रश्न गर्नुहोस्। हामीले केवल मन्त्रीको राजीनामा मागेका थियौँ, के यसरी लोकतान्त्रिक रूपमा प्रश्न उठाउनु गलत हो? तपाईंहरू सबैले यसका विरुद्ध प्रश्न सोध्नुपर्छ।”

यो अभियान भारतका सर्वोच्च अदालतका न्यायाधीश (जस्टिस) सूर्यकान्तले एउटा बहसका क्रममा युवा र ककरोचलाई जोडेर दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा सुरु भएको हो। उक्त टिप्पणीपछि डिजिटल माध्यममा आक्रोशित बनेका युवाहरूले यो व्यङ्ग्यात्मक डिजिटल अभियान खडा गरेका हुन्।

हाल यो पेज युवा पुस्तामाझ यति लोकप्रिय भइसकेको छ कि यसको इन्स्टाग्राम अकाउन्टमा मात्र १ करोड ३० लाखभन्दा बढी फलोअर्स पुगिसकेका छन्, जसले भारतका कतिपय ठूला राजनीतिक दलहरूलाई समेत सामाजिक सञ्जालको लोकतान्त्रिक उपस्थितिमा पछाडि पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *