भीषण गर्मीसँगै भारतमा बिजुली खपतको नयाँ ऐतिहासिक कीर्तिमान, माग २७० गिगावाट पार

डिसी नेपाल
८ जेठ २०८३ १३:००

नयाँदिल्ली। भारतमा बढ्दो अत्यधिक गर्मीका कारण एयर कन्डिसनर (एसी), कुलर लगायतका शीतलन उपकरणहरूको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ।

भीषण गर्मीका बीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन्।

भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो ३:४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो, जसलाई सफलतापूर्वक आपूर्ति गरिएको छ।

उक्त समयमा राजधानी नयाँदिल्लीको तापक्रम ४५.३ डिग्री सेल्सियस पुगेको थियो। मन्त्रालयले यो स्तरलाई भारतको इतिहासकै सबैभन्दा उच्च चरम बिजुली मागको रूपमा वर्णन गरेको छ। यसअघि बुधबार २६५.४४ गिगावाटको रेकर्ड कायम भएकामा त्यसलाई एकै दिनमा उछिन्दै नयाँ कीर्तिमान बनेको हो।

ऊर्जा मन्त्रालयले बढ्दो तापक्रमका कारण शीतलन उपकरणहरूको प्रयोग अत्यधिक बढेकाले नै बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ। भारतको कुल विद्युत् उत्पादनमा अझै पनि थर्मल पावर, विशेष गरी कोइलामा आधारित उत्पादनको प्रभुत्व रहेको छ।

हाल देशको कुल बिजुली उत्पादनमध्ये ६२ प्रतिशत हिस्सा कोइलाजन्य थर्मल पावरबाट प्राप्त भइरहेको छ भने सौर्य ऊर्जाबाट २२ प्रतिशत, हावा र जलविद्युत्बाट ५ प्रतिशत तथा बाँकी अंश अन्य स्रोतहरूबाट उत्पादन भइरहेको छ।

विश्वकै तेस्रो ठूलाे हरितगृह ग्यास उत्सर्जक भारतले सन् २०७० सम्म ‘शुद्ध–शून्य उत्सर्जन’ हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि ऊर्जा सुरक्षाका लागि अझै कोइलामाथि नै ठुलो निर्भरता कायम रहेको देखिन्छ।

रेकर्ड स्तरमा बिजुली उत्पादन भइरहेको सरकारी दाबीका बीच सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा धेरै प्रयोगकर्ताहरूले भने आफ्ना क्षेत्रमा अझै पनि विद्युत् कटौती (लोडसेडिङ) भइरहेको गुनासो गरेका छन्।

अत्यधिक गर्मीका कारण पुराना विद्युत् तार र ट्रान्सफर्मरहरूमा अत्यधिक चाप परेर स्थानीय स्तरमा ब्ल्याकआउट हुने जोखिम बढिरहेको बताइएको छ।

दक्षिण एसियाको १ अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा अप्रिलदेखि जुनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै गएको छ।

वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू (लु) अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन्। भारतको मौसम विभागका अनुसार बिहीबार उत्तर प्रदेश राज्यको बान्दा सहरमा अधिकतम तापक्रम ४७.६ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन यो हप्ताको सुरुआतमा त्यही क्षेत्रमा पुगेको ४८.२ डिग्री सेल्सियसभन्दा केही कम भए पनि अवस्था अझै अत्यन्त कष्टकर रहेको छ।

भारतमा हालसम्म आधिकारिक रूपमा मापन गरिएको सबैभन्दा उच्च तापक्रम राजस्थानको फलोदीमा सन् २०१६ मा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस हो।

यसैबीच, अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म ‘एक्युआई’ ले अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका सबैभन्दा तातो ५० सहरहरूमध्ये सबै भारतमै रहेको उल्लेख गरेको थियो।

तापक्रम, सौर्य विकिरण, हावाको अवस्था, वर्षा र आर्द्रतासहितका विभिन्न सूचकलाई आधार बनाएर तयार गरिएको दैनिक ‘गर्मी सूचकाङ्क’ मा भारतीय सहरहरू अत्यधिक तापको चपेटामा परेको देखाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *