तरुण दलको अध्यक्षमा मनिष कोइराला, ९ बुँदे कार्यादेशसहित महाधिवेशन गर्ने जिम्मेवारी

डिसी नेपाल
१० जेठ २०८३ २०:५३

काठमाडौँ। नेपाली कांग्रेसको प्रभावशाली भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्।

पार्टी सभापति गगन कुमार थापाले कोइरालालाई तरुण दलको रिक्त अध्यक्ष पदमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आधिकारिक रूपमा जानकारी दिएका हुन्।

गत वैशाख २१ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयानुसार सभापति थापाले कोइरालालाई यो जिम्मेवारी सुम्पनुभएको कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम सांगठनिक म्याद समाप्त भई तरुण दलको तत्कालीन केन्द्रीय कार्यसमिति स्वतः विघटन भएको पृष्ठभूमिमा पार्टी नेतृत्वले संगठनलाई गतिशीलता दिन कोइरालालाई नयाँ अध्यक्ष चयन गरेको हो।

नवनियुक्त अध्यक्ष कोइरालालाई साङ्गठनिक रिक्तता अन्त्य गर्दै तोकिएको निश्चित समयभित्रै तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ। त्यसका लागि पार्टीले उनलाई स्पष्ट ९ बुँदे कडा कार्यादेश (टीओआर) र कार्यविवरण सहितको मार्गचित्र बुझाएको कार्यवाहक मुख्यसचिव दुलालले स्पष्ट पारेका छन्।

युवा राजनीतिमा लामो समयदेखि सक्रिय कोइरालाको यो नियुक्तिसँगै सुस्त रहेको तरुण दलको महाधिवेशन प्रक्रियाले अब गति लिने कांग्रेस वृत्तमा अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *