सहकारी ठगी प्रकरण: धनराजकी पूर्वपत्नी ज्योति गुरुङलाई अदालत हाजिर हुन २१ दिनको म्याद

डिसी नेपाल
११ जेठ २०८३ ८:४८

काठमाडौँ । ललितपुर जिल्ला अदालतले मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगी प्रकरणकी मुख्य अभियुक्त ज्योति गुरुङविरुद्ध २१ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक म्याद जारी गरेको छ। ज्योति नेपाली कांग्रेसका नेता, पूर्वउपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी हुन्।

अदालतले सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत आफ्नो सबुत प्रमाणसहित प्रतिउत्तरपत्र लिएर उपस्थित हुन निर्देशन दिएको हो।

अदालतद्वारा जारी सूचनामा भनिएको छ: “यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ (एक्काइस) दिनभित्र आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत आफ्नो सबुत प्रमाणसहित प्रतिउत्तरपत्र लिई यस अदालतमा उपस्थित हुनुहोला। म्यादभित्र नभई म्याद गुजारी बसे मुद्दा कानुनबमोजिम हुनेछ। पछि तपाईंको कुनै उजुरी लाग्नेछैन।”

अदालतका प्रवक्ता टीकाध्वज कार्कीका अनुसार यो अवधिमा हाजिर नभए कानुनबमोजिम मुद्दाको प्रक्रिया अगाडि बढ्नेछ र त्यसपछि उनको कुनै उजुरी मान्य हुनेछैन।

के हो मितेरी सहकारी ठगी प्रकरण?

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोपमा ज्योति गुरुङसहितका प्रतिवादीहरूविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। अनुसन्धानका अनुसार ज्योति गुरुङले सहकारीको प्रबन्ध निर्देशक रहँदा करोडौँ रुपैयाँ अनियमित रूपमा परिचालन गरेकी थिइन्।

प्रहरीका अनुसार घटनामा संलग्न मुख्य अभियुक्तहरू हाल नेपालमा छैनन्। ज्योति गुरुङ अहिले अमेरिकामा रहेको आशंका गरिएको छ र उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ समेत जारी भइसकेको छ।

कागजी सम्बन्धविच्छेदको विवाद:

नेता धनराज गुरुङ र ज्योति गुरुङबीच २०७६ फागुन २९ गते अदालतबाट सम्बन्धविच्छेद भएको कागजातले देखाउँछ। तर, सम्बन्धविच्छेद भइसकेपछि पनि नेता गुरुङले ज्योतिको नाममा रहेको ऋणको किस्ता तिरेको प्रमाणहरू भेटिएकाले उनीहरूको सम्बन्धविच्छेद केवल ‘कागजी’ मात्र भएको भन्दै चर्को आलोचना हुँदै आएको छ।

सहकारी संञ्चालक समिति र संसदीय छानबिन समितिले समेत धनराजले सहकारीबाट लिएको ऋणको हकवालामा ज्योतिको नाम उल्लेख गरेको तथ्य फेला पारेका थिए। धनराज गुरुङले भने आफू यो प्रकरणमा निर्दोष रहेको र सम्बन्धविच्छेद भइसकेकाले ज्योतिको कारोबारसँग आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन्।

अदालतले म्याद जारी गरेसँगै यो चर्चित सहकारी ठगी प्रकरण थप कानुनी प्रक्रियामा प्रवेश गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *