गोरखाको मान्बुमा दुई दिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर, ६ सयभन्दा बढी ग्रामीण नागरिक लाभान्वित
गोरखा। गोरखा जिल्लाको आरुघाट गाउँपालिका-२ स्थित भवानी माध्यमिक विद्यालय, मान्बुमा दुई दिने मुटु, मिर्गौला तथा कलेजो लगायतको एकीकृत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरको संयुक्त आयोजना तथा एभरेष्ट बैंक लिमिटेड र आरुघाट गाउँपालिकाको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा आरुघाट गाउँपालिकाका वडा नं. १, २ र ३ का ६ सयभन्दा बढी स्थानीय बासिन्दाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। दुई दिनसम्म चलेको शिविरमा ११० जनाको मुटुको इको परीक्षण र २५० जनाको भिडियो एक्स-रे (यूएसजी) गरिएको थियो।
यसका साथै युरिन र मिर्गौला परीक्षणलगायतका प्रयोगशाला सेवाहरू निःशुल्क रूपमा प्रदान गरिनुका साथै बिरामीहरूलाई आवश्यक औषधीसमेत निःशुल्क वितरण गरिएको थियो।
मुटुरोग विशेषज्ञ डा. सचिन लामिछानेका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूमा पछिल्लो समय मुटु तथा मिर्गौलासम्बन्धी गम्भीर समस्याहरू देखिन थालेका छन्।

शिविरमा परीक्षणका लागि आएका धेरै व्यक्तिहरूमा उच्च रक्तचाप (हाइपरटेन्सन) पाइएको र त्यसकै कारण मुटु तथा मिर्गौलामा असर पुगिरहेको डा. लामिछानेले बताए। ग्रामीण स्तरमा समयमै स्वास्थ्य परीक्षण नहुँदा रोग ढिलो मात्र पहिचान हुने गरेको उल्लेख गर्दै उनले मुटुरोग पहिचानका लागि तल्लो तहदेखि नै अभियानका रूपमा यस्ता शिविरहरू लैजानुपर्नेमा जोड दिए।
रेडियोलोजिस्ट विज्ञ डा. जी एलिन, डा. गौरव पन्त, डा. लोचन श्रेष्ठ, विवेक डंगोल र ब्रिजेश यादव लगायतका स्वास्थ्यकर्मीहरूले विकट ग्रामीण क्षेत्रमा पुगेर प्रत्यक्ष सेवा प्रदान गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवामा निरन्तर खटिने प्रतिबद्धता जनाए।
शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यक्रम संयोजक डा. गौरव पन्तले क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै आगामी दिनमा पनि यस्ता शिविरहरूलाई निरन्तरता दिन केन्द्र तयार रहेको बताए।
सोही अवसरमा केन्द्रकी मानव अंग प्रत्यारोपण कोर्डिनेटर सरु कोजूले मस्तिष्क मृत्युपछिको अंगदानको महत्त्वबारे स्थानीयलाई बुझाए। उनले मानव अंग प्रत्यारोपणको क्षेत्रमा केन्द्रले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै यस पवित्र अभियानमा सबैलाई साथ दिन आग्रह गरे।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरिया र कार्यक्रम संयोजक दिनेश ढकालले स्वास्थ्य सेवा जस्तो पवित्र कार्यमा प्राविधिक सहयोग गर्ने मानव अंग प्रत्यारोपण केन्द्रलाई धन्यवाद दिँदै यस्ता शिविरले विपन्न र दूरदराजका नागरिकलाई प्रत्यक्ष राहत पुर्याउने धारणा राखे।
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले पालिकाभित्रै विशेषज्ञ डाक्टरहरू आएर स्वास्थ्य सेवा प्रदान गरेकोमा आयोजक संस्थाहरूको मुक्तकण्ठले प्रशंसा गरे। उनले आगामी दिनमा पनि पालिकाले यस्ता स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने र अनुरोध गर्ने बताए।
अध्यक्ष गुरुङले शिविर सफल पार्न सहयोग गर्ने भवानी माविका प्रधानाध्यापक काजीराम कार्की, शिक्षकहरू, स्वयंसेवक विद्यार्थीहरू तथा स्थानीय बासिन्दाहरूको योगदानको सह्राहना गरे ।
शिविर सञ्चालन भएको भवानी माविका कृषि प्रशिक्षक एवं कलाकार (Rapper ‘Atom Soul’) उत्तम रोस्याराले गाउँघरमा रोगले निकै च्यापेपछि मात्र अस्पताल जाने घातक प्रवृत्ति अझै कायम रहेको बताए।
विद्यालयमै यस्तो शिविर हुँदा स्थानीयमा समयमै स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने चेतना र सचेतना बढेको उनको भनाइ थियो। साथै, यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा एकता, सामाजिक सेवा र सहयोगको जग बसाल्न र भविष्यमा सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे।







डिसी नेपाल







Facebook Comment