उमाकुण्ड गाउँपालिकाको गौरवको आयोजना: ७ वटै वडा जोड्ने ७५ किलोमिटर मध्यमार्गी सडकको स्तरोन्नति तीव्र
रामेछाप। रामेछापको दुर्गम एवं हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिकाले आफ्ना सबै वडाहरूलाई केन्द्रसँग जोड्ने मध्यमार्गी सडकलाई गौरवको आयोजनाका रूपमा अघि बढाएको छ।
गाउँपालिकाका ७ वटै वडालाई प्रशासनिक केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो यो रणनीतिक सडकको ट्र्याक (मार्ग) खोल्ने कार्य सम्पन्न भएपछि अहिले स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो।
गाउँपालिकाका सब-इन्जिनियर गजेन्द्र कार्कीका अनुसार चालु आर्थिक वर्षमा सडकको स्तरोन्नति अन्तर्गत सोलिङ, ढलान, कडा चट्टान कटिङ, नाला निर्माण तथा ग्रेभल (डस्ट) राखेर रोलिङ गर्ने जस्ता प्राविधिक कामहरू भइरहेका छन्। यी कार्यहरूका लागि ‘एरोन पीआर जेभी’ ले २ करोड ५० लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाएको हो।
सडकलाई व्यवस्थित बनाउन गाउँपालिकाको कार्यालय रहेको केन्द्रबाट वडा नं. १ प्रिती र वडा नं. ७ भुजी दुवैतर्फ समानान्तर रूपमा स्तरोन्नतिको काम अघि बढाइएको छ। निर्माण व्यवसायीले ठेक्का सम्झौता अनुसारको कुल काममध्ये ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेको र बाँकी काम पनि यसै आर्थिक वर्षभित्रै सक्ने लक्ष्य राखिएको सब-इन्जिनियर कार्कीले जानकारी दिए। उनका अनुसार पालिकाका सबै वडाका अत्यावश्यक र अप्ठ्यारा खण्डहरूमा सुधार भइरहेको भए पनि हाल वडा नं. ३, ४ र ५ मा मुख्य काम केन्द्रित छ।
यस सडकलाई गाउँपालिकाको मेरुदण्ड र समृद्धिको आधार मानिएकाले नै यसलाई गौरवको योजनामा समेटिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए। हिमालसँग जोडिएको भूगोल भएकाले सडक सञ्जाल नपुग्दा सर्वसाधारणलाई सामान्य कामका लागि पनि गाउँपालिकाको केन्द्रसम्म आइपुग्न दिनभरि हिँड्नुपर्ने बाध्यता थियो।
यातायातको सहज पहुँच पुगेपछि नागरिकको समय बचत हुनुका साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन ठूलो मद्दत मिल्ने विश्वास अध्यक्ष सुनुवारले व्यक्त गरे।
यसैबीच, निर्माण भइरहेको सडकको गुणस्तर कायम राख्न गाउँपालिकाले स्थलगत अनुगमन र प्राविधिक नापजाँचको कार्यलाई पनि सँगसँगै अगाडि बढाएको छ।
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार योजनाको प्रभावकारिता हेर्न वडा नं. १ र २ मा सम्पन्न भइसकेका कामहरूको स्थलगत निरीक्षण तथा नापजाँच कार्य सम्पन्न भइसकेको छ र अन्य खण्डहरूमा पनि अनुगमनलाई निरन्तरता दिइनेछ।







डिसी नेपाल







Facebook Comment