अमेरिका-इरान सम्झौता सकारात्मक दिशामा, औपचारिक घोषणा हुन अझै केही दिन लाग्ने
वासिङ्टन डीसी। अमेरिका र इरानबीच भइरहेको सम्भावित आणविक सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने अमेरिकी राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) ले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार, प्रस्तावित सम्झौताको खाकालाई इरानको उच्च नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त हुन केही समय लाग्ने भएकाले अन्तिम घोषणामा ढिलाइ भएको हो।
एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा जनाइए अनुसार दुवै पक्षबीच सकारात्मक र रचनात्मक प्रगति भइरहेको छ। केही दिनभित्रै सम्झौता सम्पन्न हुन सक्ने बलियो अपेक्षा गरिएको भए पनि प्राविधिक र कानुनी प्रक्रियाहरू अझै अन्तिम चरणमै रहेकाले सबै प्रक्रिया पूरा भएपछि मात्र औपचारिक घोषणा गरिनेछ।
लामो समयदेखिको कूटनीतिक गतिरोध अन्त्य गर्ने ठानिएको यस सम्भावित सम्झौताले मध्यपूर्वको क्षेत्रीय शान्ति, स्थायित्व तथा इरानको आणविक कार्यक्रममाथिको अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। यद्यपि, सम्झौतामा समेटिएका बुँदाहरू र विस्तृत सहमतिलाई दुवै पक्षले हालसम्म सार्वजनिक भने गरेका छैनन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा संलग्न आफ्ना प्रतिनिधिहरूलाई रणनीतिक धैर्यता र सावधानी अपनाउन निर्देशन दिएका छन्। राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा र दूरगामी हितका विषयमा कुनै पनि पक्षले हतार गर्न नहुने उल्लेख गर्दै दुवै देशले पर्याप्त समय लिएर, सोचविचारपूर्वक उचित निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्।
तर, वार्ता सकारात्मक दिशामा अघि बढे पनि अमेरिकाले इरानमाथिको दबाब भने कायमै राखेको छ। सम्झौताको मस्यौदा औपचारिक रूपमा स्वीकृत, प्रमाणीकरण र दुवै पक्षबाट हस्ताक्षर नभएसम्म अमेरिकाले इरानी बन्दरगाहहरूमाथि लागू गरेको आर्थिक तथा व्यापारिक नाकाबन्दी यथावत् रहने ह्वाइट हाउसले प्रष्ट पारेको छ।







डिसी नेपाल







Facebook Comment