गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी बेहोस हुन थाले

दुर्गा देवकोटा
१२ जेठ २०८३ १८:२१

टीकापुर (कैलाली)। कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन्। कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो।

आज पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले बताए। गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ। “गर्मी बढेपछि विद्यालयमा बिहानको प्रार्थना बन्द गरिएको छ,” उनी भन्छन्, “एउटै कक्षामा सयौँ विद्यार्थी छन्। गर्मीले दैनिक रूपमा विद्यार्थी बिरामी हुन थालेपछि बिरामीलाई आराम कक्षमा आराम गराएर घर पुरयाउने गरिएको छ।”

गर्मी बढेपछि दिउँसोको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या हुनथालेको छ। टीकापुरका कतिपय विद्यालयमा एउटै कक्षामा धेरै विद्यार्थी सङ्ख्या हुने तर पङ्खा थोरै हुँदा गर्मीमा अध्ययनमा समस्या हुन थालेको उनीहरु बताउँछन्। गर्मीका समयमा विद्युत् अनियमित हुँदा विद्यार्थीलाई बढी समस्या हुने गरेको छ।

कैलालीको तापक्रम ४० डिग्री सेल्सियस माथि पुगेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका न्याय मौसम विज्ञान सहायक वीरेन्दप्रसाद कुशवाहका अनुसार सोमबार कैलालीको तापक्रम ४१.४ डिग्री सेल्सियस मापन भएको थियो भने आइतबार ४० डिग्री सेल्सियस पुगेको थियो। आज अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

चालिस डिग्री सेल्सियस माथि तापक्रम पुगेपछि पठनपाठन प्रभावित हुन थालेको छ। खड्ग स्मृति माविका अमित परियार एउटै कक्षामा विद्यार्थी सङ्ख्या ८० माथि भएकाले अध्ययनमा समस्या भइरहेको, विद्यार्थी बिरामी हुने, बेहोस हुने जस्ता समस्या भएको बताउँन्छन्। “कतिपय साथी गर्मी सहन नसकेर बीचमै पढाइ छोडेर घर जाने गरेका छन्,” उनी भन्छन्, “टाउको दुख्यो, चक्कर आयो भन्ने साथी बढेका छन्।”

राष्ट्रिय मावि मनिकापुरका अनुष्का चौधरी एउटै कक्षामा धेरै विद्यार्थी, पङ्खाको सङ्ख्या कम भएको, बक्ति जाँदा अझै कठिन हुने गरेको बताउनुहुन्छ। “बक्ति गएका बेला असिनपसिन भइन्छ,” उनी भन्छन्, “केही वर्षअघि यस्तो सहनै नसकिने गर्मी हुँदैनथ्यो। एक सातायता गर्मी सहन नसकिने भएको छ।”

त्रिभुवन माविका विद्यार्थी सञ्जिता चौधरी विद्यालयका पङ्खा गतिला नभएकाले गर्मीमा समस्या हुने गरेको बताउनुहुन्छ। “पङ्खा छन् तर राम्रो हावा दिने खालका छैनन”, उनी भन्छन्, “बिजुली अनियमित हुँदा कठिन हुन्छ।”

कालिका आधारभूत विद्यालयका विद्यार्थी अनुष्का विकले कक्षामा तीन पङ्खा भए पनि दुई वटा मात्र राम्ररी चल्ने, बिजुली गएका बेला पङ्खाबिनै बस्नुपर्दा अध्ययनमा समस्या हुने गरेको बताए।

जनज्योति आधारभूत विद्यालयकी मिष्टिना सञ्ज्याल कक्षाकोठामा भएका चार पङ्खामा दुई मात्र चल्दा विद्यार्थीलाई गर्मीले समस्या हुने गरेको बताउँछन्। “दुई पङ्खा बिग्रिएका छन्, तीनको मर्मत गरिएको छैन”, उनले भने, “विद्यार्थीलाई दिउँसो १२ बजेपछि गर्मी सहन गाह्रो भएको छ। विद्यालयमा चिसो पानीको सुविधा पनि छैन।”

यहाँ धेरै विद्यालय दिउँसो सञ्चालनमा छन्। जेठको अत्यधिक गर्मीका बेला पनि यहाँ बिहानी कक्षा सञ्चालन गरिएको छैन। दिउँसो बालबालिकालाई गर्मीले सताउने गरेको अभिभावको पनि गुनासो छ। यहाँका केही विद्यालयमा टिनका छाना छन्। अझ बिजुली गएका बेला बस्नै कठिन छ।

विद्यालयले चाहेअनुसार बिहान वा दिउँसो कक्षा सञ्चालन गर्न सक्ने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउँन्छन्। “अभिभावक, विद्यार्थीबाट गुनासो आएको छ। विद्यालय बन्द गर्दा कोर्स पूरा नहुने चिन्ता पनि छ”, उनी भन्छन्, “विद्यालयमा पङ्खालगायतका समस्या विद्यालयले व्यवस्थापन गर्नुपर्ने, समस्या भए पालिकाले सघाउँछ। कक्षा सञ्चालनका लागि विद्यालयले अवस्थाअनुसार बिहान वा दिउँसो कक्षा सञ्चालन गर्न सकिन्छ।”

कैलालीमा केही दिनअघि पनि तालिमका क्रममा सशस्त्र प्रहरी बलका जवान ‘हिट स्ट्रोक’का कारण बेहोस भएका थिए। उनीहरुको अहिले काठमाडाँैमा उपचार भइरहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *