सर्पदंशबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गरे। उनले भने, “नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन्। यस्ता सर्पको टोकाइबाट बच्न सबैमा आग्रह छ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले गर्मी बढेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढी आउने गरेको बताए। उनले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखालगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको जानकारी दिए।
सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्नेजस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातोचिसो प्रयोग नगर्न, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन डा बाँस्तोलाले आग्रह गरे।
उनका अनुसार सर्पदंशबाट बच्नका लागि राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घरवरपरको घाँस, झारपात काटेर सफा राख्नेजस्ता उपायबाट अपनाउनुपर्दछ।
त्यस्तै डा बाँस्तोलाले काठ, ढुङ्गा, टुटेफुटेको सामानको थुप्रा हटाउने, जमिनका दुलाहरू टाल्ने, पराल, दाउरा, आदि तान्दा जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, झूल टाँगेर मात्र सुत्ने जस्ता उपाय अपनाउन आग्रह गरे।







डिसी नेपाल







Facebook Comment