कंगोमा २ विद्यालयमा आगलागी, भागदौडमा २४ विद्यार्थीको मृत्यु
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विद्रोही नियन्त्रित बुकाभू शहरस्थित दुई वटा विद्यालयमा लागेको आगोबाट जोगिने क्रममा भागदौड मच्चिँदा कम्तीमा २४ जना विद्यार्थीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले सो घटनाको पुष्टि गरेका हुन्।
आगलागीमा परी केही वयस्क व्यक्तिहरूको पनि ज्यान गएको जनाइएको छ। बाक्लो बस्ती रहेको कदुतु समुदायमा भएको यस दुर्घटनामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।
घाइते तथा उद्धार गरिएका व्यक्तिहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। घटनास्थलका दृश्यहरूमा घाइते बालबालिकाहरू अस्पतालको भुइँमा छटपटाइरहेको देख्न सकिन्छ। आगलागीबाट करिब ३०० घरहरू पूर्ण रूपमा नष्ट भएका छन्। यद्यपि, आगलागी हुनुको मुख्य कारण भने अझै खुल्न सकेको छैन।
विद्रोहीद्वारा नियुक्त अधिकारीहरूले बिहीबार साँझ मृतकको सङ्ख्या २४ पुगेको जानकारी दिँदै अघिल्ला विवरणहरूको पुष्टि गरेका छन्। तर वास्तविक क्षति यो भन्दा बढी हुन सक्ने अनुमान छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा साना बालबालिकाहरू भुइँमा अचेत अवस्थामा ढलेको दृश्य देखिन्छ।
रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीले दिउँसोसम्म आगो नियन्त्रणमा आइसकेको भए तापनि भग्नावशेष र जस्तापाताले बनेका संरचनाहरूबाट धुवाँ निस्किरहेको बताएका छन्। दक्षिण किभु प्रान्तको राजधानी बुकाभू पहाडी क्षेत्रमा अवस्थित कङ्गोका अति बाक्लो बस्ती भएका शहरहरूमध्ये एक हो। गत वर्षको फेब्रुअरीमा एम२३ विद्रोहीहरूले यस शहरमाथि कब्जा जमाएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment