नारायणी नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिने

डिसी नेपाल
१२ जेठ २०८३ २०:१७

चितवन। नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पुर्‍याउन सक्ने ठाउँमा आपत्कालीन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले चितवनतर्फको भागमा तटबन्ध गर्न रु १६ करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरेको हो।

आयोजनाका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन प्याकेजमा बोलपत्र आह्वान गरिएको छ। भरतपुर महानगरपालिका–१६ को सिद्धि गणेश मन्दिर नजिक तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ। यस्तै महानगरपालिका–१७ को मजुवा र बाढीको बढी जोखिम देखिएका ठाउँमा तटबन्ध गर्र्ने तयारी छ।

सूचना अधिकारी पौडेलका अनुसार आउँदो वर्षको जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो।

सिद्धि गणेश मन्दिर वरपर तटबन्ध भत्किएको छ भने मजुवा क्षेत्रमा तटबन्ध गर्न बाँकी छ। यो बजेटबाट ५०० मिटर मर्मत एवं नयाँ तटबन्ध निर्माण गरिने छ। यसअघि चितवनतर्फको ३५ किलोमिटर नारायणी किनारमध्ये २० किलोमिटर क्षेत्रमा तटबन्ध हुँदै छ। यसै आर्थिक वर्षमा मनसुनजन्य विपत् शीर्षकमा रु पाँच करोडको लागतमा भरतपुर महानगरपालिका–२८ को तामाङ टोलमा तटबन्धको काम भइरहेको छ।

वर्षातमा नारायणीमा पानीको सतह बढेसँगै हुन सक्ने क्षतिको आँकलन गरी तटबन्ध मर्मत र नयाँ टतबन्ध निर्माणका लागि बजेट निकासा गरिएको हो। निर्वाचनको समयमा चितवन क्षेत्र नम्बर ३ मा मतदाताकहाँ पुग्दा कानुनमन्त्री सोविता गौतमसँग नदी तटिय क्षेत्रका बासिन्दाले तटबन्धको माग गरेका थिए।

मन्त्री गौतमले नारायणी नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले भोगिरहेको जोखिम, बाढीजन्य क्षतिलगायतका समस्याका कारण नारायणी पुलदेखि गोलाघाटसम्मका अत्यन्त जोखिमयुक्त स्थानमा मनसुनबाट हुनसक्ने विपद्को पूर्वतयारीस्वरूप तटबन्ध निर्माणकार्य गर्न लागिएको बताइन्।

स्थानीयले पटक–पटक गुनासो तथा ध्यानाकर्षण गराउँदै आएकाले यसलाई मध्यनजर गर्दै सङ्घीय बजेट व्यवस्थापन भई सोमबार बोलपत्र आह्वान गरिएको उनले बताइन्। तटबन्ध गर्न बाँकी रहेका ठाउँमा आगामी वर्ष बजेट बिनियोजन गरी काम अघि वढाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको उनले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *