चलचित्र ‘काजी’ को समीक्षा: सशक्त अभिनय र प्राविधिक सुन्दरताबीच कमजोर वैचारिक धरातल

डिसी नेपाल
१३ जेठ २०८३ ७:३८

काठमाडौं। नेपाली चलचित्र जगतमा फरक र जीवन्त अभिनयका लागि चिनिने अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’ प्रदर्शनमा आएको छ। निर्देशक लक्ष्मण रिजालले निर्देशन गरेको यस चलचित्रले समयको परिवेश, सम्बन्धको संवेदना र सामाजिक मान्यताबीचको द्वन्द्वलाई कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

कथावस्तु र सामाजिक परिवेश

निर्देशक रिजालले चलचित्रको कथालाई वि.सं. २०४८ साल आसपासको सामाजिक परिवेशमा ढालेका छन्. प्रजातन्त्र आउनु अघिदेखि सशस्त्र द्वन्द्व सुरु हुनु अगाडिको समयलाई पृष्ठभूमि बनाइएको यस चलचित्रमा रेडियोबाट बज्ने समाचार, लालटिनको उज्यालो र गाउँले जीवनशैली मार्फत दर्शकलाई पुराना दिनको सम्झना गराइन्छ। राजनीतिक परिवर्तनको पूर्वसन्ध्यामा रहेको नेपाली समाजको मानसिकतालाई फिल्ममा सूक्ष्म रूपमा उतारिएको छ।

चलचित्रको मूल कथा ‘काजी खानदान’ को विरासत बोकेका काजी (विपिन कार्की) र उनकी श्रीमती कजिनी (केकी अधिकारी) को वैवाहिक जीवनको वरिपरि घुम्छ. विवाहको सुरुवाती दिनमा ओहोदा र सरकारी जागिरलाई हेरेर ससुराली पक्षले काजीलाई ‘पाखे ज्वाइँ’ भन्दै गर्ने उपेक्षा र विभेदले हाम्रो समाजको तत्कालीन र अझै पनि विद्यमान सोचलाई उजागर गर्छ. गाउँमा भने काजी एक आदरणीय र परोपकारी पात्र हुन्, जसले बिरामी आमालाई डोकोमा बोकेर हिँडेका युवालाई आर्थिक सहयोग गरी आफ्नो आदर्श छवि स्थापित गर्छन्।

द्वन्द्वको सुरुवात र उठान

काजी र कजिनीको सुखी जीवनमा सन्तान सुख नहुनु नै मुख्य रिक्तता र चलचित्रको मूल द्वन्द्व बन्न पुग्छ। यही निःसन्तान हुनुको पीडा र सामाजिक असुरक्षाका बीच कजिनीको मनमा उब्जने शंकाले कथामा नयाँ मोड ल्याउँछ. सामान बेच्दै हिँड्ने नन्दुकी श्रीमतीले सुनाएको सौताको कथाका कारण कजिनीले आफ्नै श्रीमान् र बहिनी (गरिमा पन्त) को सम्बन्धमाथि शंका गर्न थाल्छिन् र अन्ततः गर्भवती भएको झुटो नाटक गर्न पुग्छिन्। एउटा सानो शंकाले मानिसलाई कसरी झुटको पहाड खडा गर्न बाध्य पार्छ भन्ने कुरा फिल्ममा निकै सूक्ष्म ढंगले देखाइएको छ।

सशक्त पक्ष: अभिनय र प्राविधिक पाटो

‘काजी’ को सबैभन्दा बलियो पक्ष यसका कलाकारहरूको अभिनय र प्राविधिक उत्कृष्टता हो. विपिन कार्कीले श्रीमतीको खुसीमै आफ्नो संसार देख्ने र उसको कमजोरी स्वीकार गर्ने आदर्श श्रीमानको भूमिकामा सधैँझैँ जीवन्त र न्यायपूर्ण अभिनय गरेका छन्।

त्यस्तै, केकी अधिकारीले असुरक्षित र शंकालु श्रीमतीको भावुक तथा परिपक्व भूमिका निभाएर आफ्नो अभिनय क्षमताको उच्च नमुना प्रस्तुत गरेकी छन्. गरिमा पन्त, हेमन्त बुढाथोकी र प्रकाश घिमिरेको अभिनय पनि स्वाभाविक र अब्बल छ।

प्राविधिक रूपमा चलचित्र निकै आकर्षक छ। क्यामेराको प्रतीकात्मक प्रयोग निकै प्रशंसनीय छ- जहाँ काजीको निराशा देखाउन ओरालो बाटो र आशा पलाउँदा उकालो दृश्य खिचिएको छ. काजीको अपूरो पितृत्वको चाहनालाई सेतो कपडा लगाएका बच्चाहरू खेलिरहेको र एक्कासी गायब भएको सपनाको दृश्य मार्फत कलात्मक रूपमा अभिव्यक्त गरिएको छ। साथै, पाश्र्वध्वनि र ‘वारी वर पारी पिपलु’ जस्ता गीतले चलचित्रको भावनात्मक गहिराइलाई थप मजबुत बनाएका छन्।

कमजोरी र वैचारिक असहमति

यति हुँदाहुँदै पनि चलचित्र पटकथा र वैचारिक दृष्टिकोणमा भने केही चुकेको देखिन्छ। चलचित्रको पहिलो भाग (फर्स्ट हाफ) अत्यधिक सुस्त भएकाले आधुनिक र व्यावसायिक (कमर्शियल) फिल्म रुचाउने दर्शकलाई कथामा बाँधिन केही समय लाग्न सक्छ। फिल्ममा ठूला एक्सन, थ्रिलर वा सस्तो कमेडी खोज्नेहरूका लागि यो फिल्मले निराश बनाउन सक्छ, किनकि यो सादगी र भावनामा मात्र टिकेको छ।

चलचित्रको मुख्य कमजोरी यसको अन्त्य र यसले दिने सन्देशमा छ. समस्याको समाधानका लागि ‘स्वस्थानी व्रत’ र धार्मिक विश्वासलाई माध्यम बनाइनुले चलचित्रलाई केही हदसम्म रुढिवादी र पश्चगामी देखाउने जोखिम बढाएको छ।

एउटी महिलाको अस्तित्व, खुसी र पहिचान केवल एउटा ‘राम्रो श्रीमान्’ पाउनु वा मातृत्वसँग मात्र जोडिनु आजको आधुनिक एवं सचेत समाजको चेतनासँग मेल खाँदैन। कजिनीको झुट थाहा पाएर पनि काजीले मौन रूपमा स्वीकार गर्नुलाई प्रेमको गहिराइ मान्ने कि सम्बन्धको कमजोरी? चलचित्रले यो प्रश्न अनुत्तरित नै छाडेको छ, जसले गर्दा झुट र मौन सहमतिलाई महिमामण्डन गरिएको भन्दै केही दर्शकमा असहजता पैदा हुन सक्छ।

निष्कर्ष

समग्रमा, ‘काजी’ धेरै तामझाम र कृत्रिम संवाद बिना नै प्रेम र सम्बन्धको गहिराइ पस्कन सफल एक न्यानो, क्लासिक र मौलिक नेपाली स्वाद बोकेको चलचित्र हो. कमजोर पटकथा र परम्परावादी वैचारिक धरातलका कारण यसले केही प्रश्नहरू उब्जाए पनि, अभिनय र प्राविधिक सुन्दरताका कारण यो हेर्नलायक बनेको छ। परिवारसँग बसेर एउटा अर्थपूर्ण र मौलिक नेपाली कथा हेर्न चाहने दर्शकका लागि यो चलचित्र एउटा राम्रो विकल्प हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *