नेपाली नागरिकलाई श्रीलंकाको पर्यटक भिसा पूर्ण रूपमा निःशुल्क

डिसी नेपाल
१३ जेठ २०८३ १०:५९

काठमाडौं। नेपाली नागरिकहरूका लागि श्रीलंका भ्रमण गर्न अब पर्यटक भिसा शुल्क नलाग्ने भएको छ। काठमाडौंस्थित श्रीलंकाली दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन-ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको हो।

श्रीलंका सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकहरूलाई लक्षित गर्दै यो नयाँ र आकर्षक सुविधा उपलब्ध गराउने निर्णय गरेको हो, जुन २०२६ मे २५ देखि नै लागू भइसकेको छ।

यस नयाँ प्रावधानअन्तर्गत पर्यटन प्रयोजनका लागि श्रीलंका भ्रमण गर्न चाहने नेपालीहरूले ३० दिनको अवधि रहने र दुई पटकसम्म प्रवेश गर्न मिल्ने (डबल इन्ट्री) पर्यटक भिसा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यसअघि नेपालीहरूले श्रीलंकाको पर्यटक भिसाका लागि निश्चित शुल्क तिर्नुपर्ने बाध्यता थियो। श्रीलंका सरकारको यस कदमले दुई देशबीचको कूटनीतिक र पर्यटकीय सम्बन्धलाई थप मजबुत र सुमधुर बनाउने अपेक्षा गरिएको छ।

श्रीलंका भ्रमण गर्ने योजनामा रहेका यात्रुहरूले त्यसतर्फ प्रस्थान गर्नुअघि नै श्रीलंका इमिग्रेसनको आधिकारिक वेबसाइटमार्फत अनलाइन वा काठमाडौंस्थित श्रीलंकाली दूतावासमा सिधै सम्पर्क गरेर अनिवार्य रूपमा आफ्नो ईटीए लिनुपर्ने दूतावासले स्पष्ट पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *