इरानलाई ‘पूर्ण आत्मसमर्पण’ गर्न ट्रम्पको चेतावनी, ह्वाइट हाउसमा आकस्मिक बैठक बोलाइयो

डिसी नेपाल
१३ जेठ २०८३ ११:३७

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा आत्मसमर्पण गर्न र हार स्वीकार गर्दै हतियार बिसाउन कडा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट साझा गर्दै राष्ट्रपति ट्रम्पले इरानी नेतृत्वले संयुक्त राज्य अमेरिकाको विशाल शक्ति र सामर्थ्यसामु घुँडा टेक्नुपर्ने जिकिर गरेका हुन्।

आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले लेखेका छन्, “यदि इरानले आत्मसमर्पण गर्छ, आफ्नो नौसेना समाप्त भएर समुद्रको फेदमा पुगेको र वायुसेना पनि अब अस्तित्वमा नरहेको कुरा स्वीकार गर्छ भने मात्र पुग्दैन।

यदि उसको सम्पूर्ण सेना हतियार छोडेर र हात माथि उठाई, प्रत्येकले ‘म आत्मसमर्पण गर्छु, म आत्मसमर्पण गर्छु’ भन्दै र सेतो झण्डा फहराउँदै तेहरानबाट बाहिर निस्कन्छ भने, र यदि उसको बाँकी रहेको सम्पूर्ण नेतृत्वले आत्मसमर्पणको आवश्यक कागजातमा हस्ताक्षर गरेर महान् संयुक्त राज्य अमेरिकाको विशाल शक्ति र सामर्थ्यसामु आफ्नो हार स्वीकार गर्छ भने पनि मिडियाको रबैया फेरिने छैन।”

उनले अमेरिकी सञ्चारमाध्यमहरूको कडा आलोचना गर्दै अगाडि लेखेका छन्, “यति हुँदाहुँदै पनि ओरालो लाग्दै गरेको न्यूयोर्क टाइम्स, ‘द चाइना स्ट्रिट जर्नल’ (वाल स्ट्रिट जर्नल), भ्रष्ट र अब अप्रासंगिक भइसकेको सीएनएनलगायत नक्कली समाचार फैलाउने मिडियाका अन्य सबै सदस्यहरूले संयुक्त राज्यमाथि इरानले उत्कृष्ट र शानदार विजय हासिल गर्‍यो भन्दै मुख्य समाचार छाप्नेछन्। सत्य यसको नजिक पनि हुने छैन।

डेमोक्र्याट र सञ्चारमाध्यमहरू पूर्ण रूपमा आफ्नो बाटोबाट भड्किएका छन्। तिनीहरू पूर्ण रूपमा पागल भएका छन्।” ट्रम्पले न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नल (जसलाई उनले ‘द चाइना स्ट्रिट जर्नल’ को संज्ञा दिए) तथा सीएनएन जस्ता प्रतिष्ठित सञ्चारमाध्यमहरूलाई ‘फेक न्यूज मिडिया’ भन्दै उनीहरूले इरानको जित भएको भ्रम फैलाएको आरोप लगाएका हुन्।

अर्कातर्फ, इरानले अमेरिकामाथि आफ्ना व्यावसायिक जहाजहरूमा आक्रमण गरेर बारम्बार युद्धविरामको उल्लङ्घन गरेको गम्भीर आरोप लगाएको छ।

इरानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युद्धविरामको घोषणापछि पनि अमेरिकाले ‘गैरकानूनी र अन्यायपूर्ण’ कार्य जारी राख्दै समुद्री डकैती गरिरहेको दाबी गरेको छ।

इरानको दक्षिणी होर्मोज्गान प्रान्त र रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ वरपर अमेरिकी आक्रमणका कारण ठूला विस्फोटका आवाजहरू सुनिएको र यसले सात हप्तादेखि जारी कमजोर युद्धविरामको घोर उल्लङ्घन गरेको इरानको भनाइ छ।

यसैबीच, इरानको शक्तिशाली सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले अमेरिकी आक्रमणको कडा बदला लिने धम्की दिएको छ।

इरानी आरोपको खण्डन गर्दै अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रवक्ता टिमोथी हकिन्सले ती सैन्य कारबाहीहरू अमेरिकी सेनाको सुरक्षाका लागि गरिएको ‘आत्मरक्षा आक्रमण’ भएको स्पष्ट पारेका छन्।

उनका अनुसार इरानी मिसाइल प्रक्षेपण स्थल र समुद्रमा बारुदी सुरुङ (माइन्स) बिछ्याउन खोज्ने इरानी डुङ्गाहरूलाई लक्षित गरी अमेरिकी सेनाले कारबाही गरेको हो।

.कतारमा दुवै देशबिच स्थायी युद्ध अन्त्यका लागि वार्ता भइरहे पनि इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी भाषामा कुरा नमिल्दा सहमति जुट्न सकेको छैन। यही बढ्दो तनावका बिच राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

मध्यपूर्वको अर्को अशान्त क्षेत्र लेबनानमा इजरायली हवाई तथा स्थल आक्रमण निकै तीव्र भएको छ। मङ्गलवार इजरायलले गरेको भिन्नाभिन्नै हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार हताहत हुनेहरूमा ठुलो सङ्ख्यामा महिला तथा बालबालिकाहरू रहेका छन्। गत अप्रिल महिनामा लेबनानमा युद्धविराम लागू भएयताकै यो सबैभन्दा घातक र रक्तपातपूर्ण दिन बनेको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले भने दक्षिणी लेबनानमा हिज्बुल्लाहका लडाकु र उनीहरूका सैन्य संरचनाहरूलाई मात्र लक्षित गरी आक्रमण जारी राखेको दाबी गरेको छ।

इजरायलले स्थल सेना अगाडि बढाउँदै कयौँ सहर र गाउँ खाली गर्न आदेश दिएपछि दक्षिणी लेबनानका सर्वसाधारणबिच त्रास फैलिएको छ। यता प्रत्युत्तरमा हिज्बुल्लाहले पनि दक्षिणी लेबनानमा तैनाथ इजरायली सेनामाथि ३२ वटा जवाफी आक्रमण गरेको दाबी गरेको छ।

यसैबिच, युद्ध र तनावका कारण विगत एक महिनादेखि पूर्ण रूपमा बन्द (ब्ल्याकआउट) गरिएको इरानको इन्टरनेट सेवा बिस्तारै सुचारु हुन थालेको छ। इरानका उपराष्ट्रपति मोहम्मद रेजा आरेफले देशमा पूर्ण इन्टरनेट पहुँच पुनर्स्थापित गर्ने दिशामा सरकारले पहिलो कदम चालेको पुष्टि गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *