एउटै व्यक्ति एकै समयमा एमाले र रास्वपा दुवैको सदस्य
काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा बारा जिल्ला कमिटी सदस्य सरिता (यमकुमारी) सापकोटाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्। तर, उनको यो दलबदल राजनीतिक र कानुनी रूपमा विवादित बनेको छ।
सापकोटाले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा पत्र र रास्वपाको सदस्यता पत्र सार्वजनिक गरेसँगै उनी विगत दुई महिनादेखि एकैसाथ दुवै पार्टीको सदस्य रहेको खुलासा भएको हो। सापकोटाले सार्वजनिक गरेको विवरण अनुसार उनले एमालेबाट विधिवत राजीनामा दिनुभन्दा करिब दुई महिनाअघि नै रास्वपाको सदस्यता लिइसकेकी थिइन्।
उनको राजीनामा पत्रमा जेठ १३ गतेको मिति उल्लेख छ भने रास्वपाको सदस्यता गत चैत २३ गते नै लिएको देखिन्छ। यस आधारमा उनी चैत २३ देखि जेठ १३ गतेसम्म कानुनी र व्यावहारिक रूपमा एमाले र रास्वपा दुवै पार्टीमा रहेकी थिइन्।
राजनीतिक दल सम्बन्धी ऐनले दोहोरो सदस्यतालाई निषेध गरे पनि सापकोटा दुई महिनासम्म पुरानो दलको पदमै रहेर नयाँ दलको सदस्य बनेको पाइएको छ। आफ्नो निर्णयबारे सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै सापकोटाले गहन सोचविचार गरेर नै यो कदम चालेको बताएकी छन्। उनले लेखेकी छन् ‘आजसम्म एमालेमा रहेर गरेको १५ वर्षको योगदान मेरो व्यक्तिगत फाइदाको लागि नभएर जनताको हितका लागि थियो। आजसम्मको लागि एमालेलाई धन्यवाद।’
पार्टी परिवर्तन गर्दा आलोचना र समर्थन आउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले यसलाई सहज रूपमा लिनुपर्ने बताएकी छन्। ‘हामीजस्तो कार्यकर्ता संरक्षण गर्न नसक्नु एमालेको महानता कि कमजोरी हो, त्यो जनताले मूल्यांकन गर्नेछन्,’ उनले थपेकी छन्।
सापकोटाले आफ्नो राजीनामा पत्रमा वर्तमान राजनीतिक परिवेश, वैचारिक धारणा तथा व्यक्तिगत निर्णयका कारण अब उप्रान्त एमालेमा निरन्तरता दिन उपयुक्त नठानेको उल्लेख गरेकी छन्।
सापकोटाको यो कदम सार्वजनिक भएपछि एमालेभित्र पनि बहस सुरु भएको छ। एमाले नेतृ नविना लामाले सामाजिक सञ्जालमार्फत नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि पोखेकी छन्। पुराना र सक्रिय कार्यकर्तालाई संरक्षण गर्न नसक्नु नेतृत्वको कमजोरी भएको उनको ठहर छ।
नेतृ लामाले लेखेकी छन् ‘नेतृत्वको मुख्य जिम्मेवारी भनेको आफ्ना कार्यकर्ताको रक्षा गर्नु, सम्मान गर्नु, क्षमताअनुसार जिम्मेवारी दिनु र सही मूल्यांकन गर्नु हो। कार्य विभाजनमा विभेद गर्ने, लामो समयसम्म जिम्मेवारीविहीन बनाउने वा कार्यकर्ताको भावना बुझ्न नसक्ने शैली कहिल्यै पनि असल नेतृत्वको परिचय हुन सक्दैन।’
एकै समयमा दुईवटा राजनीतिक दलको सदस्यता बोकेर हिँड्ने यो घटनाले राजनीतिक वृत्तमा नैतिकता र कानुनी प्रश्नलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ।







डिसी नेपाल







Facebook Comment