गणतन्त्र व्यवस्था होइन, दलहरूको कार्यशैलीप्रति जनताको आक्रोश हो: राजेन्द्र पाण्डे
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री राजेन्द्र पाण्डेले गणतन्त्र नेपालको इतिहासकै ठूलो राजनीतिक उपलब्धि भए पनि यसको मर्मअनुसार जनताको जीवनस्तर सुधार गर्न राजनीतिक दलहरू पूर्ण रूपमा सफल हुन नसकेको बताएका छन्।
नेपाल न्यूज बैंकसँगको गणतन्त्र विशेष कुराकानीमा उनले गणतन्त्र स्थापना हजारौं जनताको बलिदान, त्याग र लामो राजनीतिक संघर्षबाट सम्भव भएको उल्लेख गर्दै अहिलेको असन्तुष्टि गणतन्त्रविरुद्ध नभई सुशासन र जनअपेक्षा पूरा गर्न नसकेका राजनीतिक दलहरूप्रतिको आक्रोश भएको दाबी गरे।
आफू २०३२ सालदेखि विद्यार्थी आन्दोलनमार्फत कम्युनिष्ट राजनीतिमा सक्रिय भएको स्मरण गर्दै उनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दा तीनवटा राजकाज मुद्दा खेपेको र झण्डै साढे ६ वर्ष जेल जीवन बिताएको बताए।
उनले भने, “गणतन्त्र ल्याउनका लागि ठूलो दुःख, त्याग र बलिदान गरेका छौँ । हजारौँ मानिसले रगत बगाए, धेरैले ज्यान गुमाए । त्यसपछि मात्रै हामी यो ठाउँमा आइपुगेका हौं ।”
संयुक्त आन्दोलनको बल र राजतन्त्रको अन्त्य
नेता पाण्डेका अनुसार नेपालमा गणतन्त्र स्थापना कुनै एक दलको प्रयासबाट मात्र सम्भव भएको होइन । तत्कालीन सात राजनीतिक दल, नागरिक समाज, सर्वसाधारण जनता र विभिन्न आन्दोलनहरूको संयुक्त बलबाट राजतन्त्र अन्त्य भएको उनले बताए ।
नेपाली कांग्रेससमेत सुरुमा संवैधानिक राजतन्त्रको पक्षमा रहे पनि समयक्रममा राजतन्त्रले निरङ्कुश चरित्र देखाएपछि गणतन्त्रको पक्षमा उभिन बाध्य भएको उनको भनाइ थियो ।
“राजाले मिडिया बन्द गर्ने, टेलिफोन काट्ने, नेताहरूलाई जेल हाल्ने काम गरेपछि अब यो संस्था राखेर देश अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा सबै पुगे। त्यसपछि २०६२/६३ को आन्दोलनमार्फत हामीले निरङ्कुश राजतन्त्र हटाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ,” उनले भने ।
समावेशी प्रतिनिधित्व ऐतिहासिक उपलब्धि
पाण्डेले गणतन्त्रपछिको सबैभन्दा ठूलो उपलब्धि समावेशी प्रतिनिधित्व भएको बताए । महिला, दलित, मधेसी, जनजाति तथा उत्पीडित समुदायलाई राज्यको संरचनामा समेट्ने प्रयास हुनु र दलित महिलासमेत स्थानीय तहमा नेतृत्वमा पुग्ने अवस्था बन्नु ऐतिहासिक भएको उनले उल्लेख गरे।
उनले भने, “हामीले आन्दोलनबाट ठूलो उपलब्धि प्राप्त गर्यौँ । ३३ प्रतिशत महिलाले केन्द्रीय संसद्मा सहभागी हुने, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला नै हुने, सभामुख-उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष-उपाध्यक्षमध्ये एकजना महिला र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गर्यौँ । स्थानीय तहको ६ हजार ७ सय ४३ वडामा दलित महिला नै हुनुपर्ने सिस्टम बनायौँ । यस्ता धेरै उपलब्धि हामीले हासिल गरेका छौं।”
दैनिक जीवनका समस्या र सुशासनमा कमजोरी
राजनीतिक उपलब्धिका बावजुद जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा भने कमजोरी भएको उनले स्वीकार गरे। सुकुम्बासी, कमैया, श्रमिक र गरिब जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता पूरा गर्न नसक्दा जनतामा निराशा बढेको उनको भनाइ थियो।
कमैया प्रथा अन्त्य गरिए पनि उनीहरूको बसोबास र रोजगारीको दीर्घकालीन व्यवस्था गर्न नसकिएको तथा सुकुम्बासी समस्या दशकौंदेखि यथावत् रहेको उल्लेख गर्दै उनले राज्यले मानवीय संवेदनाभन्दा बल प्रयोगलाई प्राथमिकता दिएको आरोप लगाए।
“कमैयालाई सामन्तहरूको घरबाट निकाल्यौँ तर उनीहरूलाई बस्ने ठाउँको व्यवस्था गर्न सकेनौं। आज सुकुम्बासीका छाप्राहरू महिनौँ दिनदेखि डोजर लगाएर भत्काउने काम चलिरहेको छ । हामीले काम गर्न पाएको भए यस्तो हुँदैनथ्यो,” उनले गुनासो गरे।
निर्वाचन परिणाम: गणतन्त्र विरोधी होइन, आक्रोशको अभिव्यक्ति
नेता पाण्डेले पछिल्लो निर्वाचन परिणामलाई गणतन्त्र विरोधी नभई स्थापित राजनीतिक दलहरूले सुशासन दिन नसक्दा पुराना दलहरूप्रति जनताले पोखेको असन्तुष्टिका रूपमा व्याख्या गरे।
भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक नेतृत्वको जीवनशैलीप्रति जनतामा गहिरो प्रश्न उठेको बताउँदै उनले भने, “अहिलेको निर्वाचन परिणाम आक्रोशको अभिव्यक्ति हो । दललाई नरुचाएको हो, गणतन्त्र नै नरुचाएको होइन । जनताले हालेको भोट राजतन्त्र ब्युँताउनु पर्छ भनेर होइन।”
उनले अहिले सामाजिक सञ्जाल र प्रविधिको विकासका कारण राज्यका कमजोरी तुरुन्त सार्वजनिक हुने भएकाले अब पारदर्शी शासन र जिम्मेवार राजनीति अपरिहार्य भएको स्पष्ट पारे ।
भौतिक विकासमा प्रगति, सेवा प्रवाहमा ढिलासुस्ती
गणतन्त्रपछिको विकासबारे बोल्दै उनले सडक, विद्युत्, सञ्चार र यातायात क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे। पञ्चायतकालमा करिब ६ हजार किलोमिटर सडक रहेकोमा अहिले २० हजार किलोमिटरभन्दा बढी कालोपत्रे सडक बनेको र विद्युत् उत्पादन ३६ सय मेगावाट पुगेको उनले बताए ।
तर, सेवा प्रवाह र प्रशासनिक सुधारमा अपेक्षित गति आउन नसक्दा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता आधारभूत सेवामा हप्तौँ-वर्षौँ कुर्नुपर्ने बाध्यात्मक अवस्थाले जनतामा निराशा पैदा गरेको उनको स्वीकारोक्ति थियो।
साथै, गणतन्त्र घोषणा भएपछि तुरुन्तै धेरै कानुनहरू बनाउनुपर्नेमा निजामती सेवा ऐनजस्ता महत्त्वपूर्ण कानुनहरू अझै अड्किएकाले संघीयता प्रभावकारी हुन नसकेको उनले औंल्याए ।
पुस्तान्तरण र वामपन्थी एकताको आवश्यकता
नेता पाण्डेले राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्दै पुस्तान्तरण र युवा नेतृत्व विकास गर्नुपर्ने आवश्यकता औँल्याए। “राणा शासन, पञ्चायत र राजतन्त्र हटाउन सक्ने दलहरूले अब आफ्नै पार्टीभित्र लोकतन्त्र बलियो बनाउनुपर्छ,” उनले भने।
नेपालको कम्युनिष्ट आन्दोलन अहिले विभाजित अवस्थामा रहेको उल्लेख गर्दै उनले विभिन्न वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने प्रयास भइरहेको समेत जानकारी दिए । गणतन्त्र दिवसको अवसरमा उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकारको रक्षा गर्दै आर्थिक समृद्धि र सुशासनतर्फ सबै राजनीतिक शक्तिहरू केन्द्रित हुनुपर्ने धारणा राखे ।







डिसी नेपाल







Facebook Comment