रवीन्द्र मिश्र भन्छन्- ‘प्रचण्डतन्त्र दिवस-इतिहास रहोस्, अमर नरहोस्’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ उपाधयक्ष रवीन्द्र मिश्रले जेठ १५ गते देशमा मनाइने गणतन्त्र दिवसको अवसरमा राजनीतिक वृत्त र वर्तमान व्यवस्थामाथि कडा प्रहार गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस सार्वजनिक गर्दै उनले देशवासी, विशेषगरी वर्तमान राजनीतिक प्रणालीका समर्थकहरूलाई ‘प्रचण्डतन्त्र दिवस’ को शुभकामना दिएका हुन्।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरी हाल संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको वकालत गर्दै आएका मिश्रले वर्तमान गणतान्त्रिक व्यवस्थालाई ‘प्रचण्डतन्त्र’ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यसको पिताका रूपमा चित्रण गरेका छन्।
मिश्रले आफ्नो विचारमा वर्तमान नेपालको राजनीतिमा ‘प्रचण्ड युग’ हाबी भएको र संसद्मा रहेका स्थापित पुराना दलदेखि लिएर नयाँ उदायका शक्तिहरू समेत अन्ततः प्रचण्डकै एजेन्डाको वरिपरि घुमिरहेको दाबी गरेका छन्।
उनले नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइराला, सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल जस्ता स्थापित पुराना नेताहरूलाई ‘प्रचण्डवादी’ को संज्ञा दिएका छन्।
त्यसैगरी, समकालीन राजनीतिमा स्थापित युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलमाथि पनि उनको टिप्पणी केन्द्रित रहेको छ।
परम्परागत दलहरू मात्र नभई नयाँ वैकल्पिक राजनीतिको नारा लिएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह, उपसभापति डा. स्वर्णिम वाग्लेसमेत प्रचण्डकै एजेन्डाको जगमा उभिएको मिश्रको जिकिर छ।
उनले यी सबै नेताहरूले आफूलाई नयाँ वा भिन्न देखाउन खोजे पनि उनीहरूको वैचारिक धरातल प्रचण्डले स्थापित गरेकै राजनीतिक प्रणालीभित्र खुम्चिएको आरोप लगाएका छन्।
मिश्रले थपेका छन् ‘ती तपाईँलाई श्रेय दिन चाहाँदैनन्, किनभने तिनको मुटु सानो छ। तर तिनले जति बल गरे पनि तथ्य के हो भने ती सबैको अनुहारमा प्रचण्डको लेप लागेको छ।’
नेता मिश्रले राजनीतिज्ञहरू मात्र नभएर देशका स्थापित सञ्चारकर्मी, नागरिक समाजका अगुवा र पेसाकर्मीहरू समेत वर्तमान व्यवस्थालाई संस्थागत गर्न लागेकाले उनीहरू सबैमा ‘प्रचण्डवाद’ को प्रभाव रहेको उल्लेख गरेका छन्।
विचारमा आफू वर्तमान व्यवस्थाको विरोधी र भिन्न मत राख्ने व्यक्ति भएको प्रष्ट पार्दै उनले यो व्यवस्था लामो समय नटिक्ने धारणा राखेका छन्। स्टाटसको अन्त्यमा उनले “प्रचण्डतन्त्र दिवस -इतिहास रहोस्, अमर नरहोस्” भन्दै वर्तमान गणतान्त्रिक व्यवस्था मुलुकको लागि स्थायी समाधान नभएको र यसको विकल्प खोजिनुपर्ने आफ्नो राजनीतिक अडानलाई पुनः दोहोर्याएका छन्।







डिसी नेपाल







Facebook Comment