अमेरिका र इरानबीच ६० दिने युद्धविराम र आणविक वार्ताका लागि अस्थायी सम्झौता
हर्मुज जलघाँटी खुला गर्नुपर्ने प्रस्ताव
वासिङ्टन/तेहरान। तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि विराम दिने र इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच एउटा अस्थायी सम्झौता भएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी गराउनुभएको भए तापनि इरानले भने अहिलेसम्म यसको औपचारिक पुष्टि गरिसकेको छैन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने विषय अझै स्पष्ट भइसकेको छैन।
केही प्राविधिक तथा भाषागत बुँदाहरूमा अझै छलफल जारी रहेकाले अन्तिम सहमति टुङ्गिन बाँकी रहेको जनाइएको छ। यो अस्थायी सम्झौताको विवरण पहिलो पटक समाचार संस्था एक्सियोसले सार्वजनिक गरेको थियो।
हर्मुज जलघाँटी र तेल बजारमा पर्ने प्रभाव
सार्वजनिक रूपमा बोल्ने अधिकार नभएका कारण नाम नखुलाउने सर्तमा एक अधिकारीले दिएको जानकारी अनुसार, यस सम्झौतासँगै सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटीसम्बन्धी प्रावधानहरू अगाडि सारिएका छन्।
नयाँ प्रस्तावअनुसार इरानले उक्त जलमार्गमा टोल (महसुल) लगाउने अधिकार प्रयोग गर्न पाउने छैन भने ३० दिनभित्र त्यहाँ राखिएका सबै खानीहरू हटाउनुपर्नेछ। युद्धका क्रममा इरानले यो जलमार्ग बन्द गर्दा विश्व व्यापारमा प्रयोग हुने तेल र ग्यासको करिब पाँचौँ भाग प्रभावित भएको थियो।
यसैबीच, अमेरिकाले इरानी बन्दरगाहहरूमा गरेको नौसैनिक दबाब क्रमशः हटाउने र प्रतिबन्धहरू खुकुलो पार्दै इरानलाई थप तेल बिक्री गर्न अनुमति दिने तयारी गरेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सम्झौता अन्तिम भएपछि विश्व बजारमा तेलको मूल्य छिट्टै घट्न सक्ने अनुमान व्यक्त गर्नुभएको छ। यद्यपि, अमेरिकाले इरानी तेल बिक्रीसँग सम्बन्धित केही थप प्रतिबन्धहरू पनि लगाएको छ, जसले आर्थिक दबाब अभियानलाई अझ विस्तार गरेको देखिन्छ।
इरानले केही व्यावसायिक जहाजहरूलाई आवतजावत गर्न दिएको दाबी गरे पनि यस महिनामा औसत दैनिक जहाज आवागमन युद्धपूर्वको तुलनामा निकै घटेको छ। इस्लामिक गणतन्त्रले केही जहाजबाट टोल असुल गरेको आरोप लागेकै सन्दर्भमा त्यहाँ नयाँ औपचारिक नियन्त्रण निकाय समेत स्थापना गरिएको छ।
अत्यधिक संवर्धित युरेनियमको चुनौती र आणविक संवेदनशीलता
सम्झौताको सबैभन्दा संवेदनशील विषय इरानको अत्यधिक संवर्धित युरेनियम भण्डारण रहेको बताइएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानसँग हाल ४४0.९ किलोग्राम युरेनियम छ, जुन ६0 प्रतिशतसम्म संवर्धित छ।
यो हतियार-स्तर (९0 प्रतिशत) भन्दा केही तल मात्र रहेको प्राविधिक सीमा हो। वार्ताकारहरूले उक्त भण्डारणको भविष्यबारे प्रारम्भिक सहमति खोज्ने प्रयास गरिरहेका छन्, जसको विस्तृत रूप आगामी वार्तामा तय हुने अपेक्षा गरिएको छ।
उपराष्ट्रपति भान्सले आणविक सामग्री, संवर्धित भण्डार र संवर्धन प्रक्रियासम्बन्धी विषयहरू अझै छलफलकै क्रममा रहेको र दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गरे।
तर इरानले आफ्ना युरेनियम भण्डार पूर्ण रूपमा त्याग्ने प्रतिबद्धता अझै सार्वजनिक गरेको छैन। केही विश्लेषकहरूले उक्त भण्डारलाई चीन वा रूसजस्ता तेस्रो पक्षको जिम्मा दिने विकल्पबारे छलफल हुन सक्ने संकेत गरे पनि अमेरिकी राष्ट्रपति ट्रम्प यस्तो योजनामा सहज नहुने प्रस्ट पारिएको छ।
क्षेत्रीय सुरक्षा र बढ्दो सैन्य तनाव
इरानले वार्ताका क्रममा लेबनानमा भइरहेको इजरायली सैन्य कारबाही रोक्ने विषय पनि समावेश हुनुपर्ने अडान दोहोर्याएको छ। यसैबीच लेबनानको राजधानी बेरुत आसपास र दक्षिणी क्षेत्रमा भएका पछिल्ला आक्रमणहरूमा कम्तीमा १४ जनाको मृत्यु भएपछि क्षेत्रीय तनाव अझ बढेको छ।
क्षेत्रीय सुरक्षाको अवस्था थप जटिल बन्दै जाँदा कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनहरू रोकेको जनाएको छ। कुवेतको विदेश मन्त्रालयले यसलाई स्पष्ट आक्रमण भन्दै निन्दा गरेको छ भने अमेरिकी सेन्ट्रल कमान्डले यसलाई गम्भीर युद्धविराम उल्लंघनको रूपमा व्याख्या गरेको छ।
अमेरिकी अधिकारीहरूका अनुसार हालैका दिनहरूमा इरानमाथि थप कारबाही गर्दै ड्रोनहरू खसाल्ने र केही सैन्य संरचनामा आक्रमण गर्ने कार्य समेत गरिएको छ। इरानले भने आफ्ना रिभोलुसनरी गार्डमार्फत प्रतिकारात्मक आक्रमण गरेको जनाए पनि त्यसको विस्तृत लक्ष्य खुलाएको छैन।
यद्यपि, दुवै पक्षले आंशिक सहमति र आंशिक असहमतिका बीच वार्तालाई निरन्तरता दिइरहेका छन्। उपराष्ट्रपति भान्सका अनुसार युद्धविराम पूर्ण रूपमा स्थिर नभए पनि हालसम्म धेरै हदसम्म टिकिरहेको छ।
यसैबीच, बिहीबार मात्रै इरानको प्रतिरक्षा प्रणालीले दक्षिणी सहर ‘जाम’ नजिकै एक शत्रुतापूर्ण विमान नष्ट गरेको दाबी गरेको छ, जसले क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको देखाउँछ।







डिसी नेपाल







Facebook Comment