इन्टरनेटमा सनसनी मच्चाएको ‘ट्रम्प भैँसी’ को भाग्य बदलियो: कुर्बानी हुनबाट जोगियो
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौठो अनुहार र कपालको शैली मिलेका कारण विश्वभर चर्चामा आएको बंगलादेशको एउटा अल्बिनो (सेतो) भैँसीलाई संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको छ।
आफ्नो विशिष्ट गोरो रङ्ग, कपालको झुप्पा र अनुहारको बनावटका कारण इन्टरनेटमा भाइरल भएको यो भैँसीलाई इद-उल–अधाको अवसरमा कुर्बानी (बलि) दिनबाट जोगाएर चिडियाखाना पुर्याइएको हो।
ढाका चिडियाखानाका निर्देशक रफिकुल इस्लाम तालुकदारले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उक्त अल्बिनो भैँसीलाई प्रदर्शनीका लागि मात्र नभई विशेष संरक्षण र रेखदेखका लागि चिडियाखानामा राखिएको जानकारी दिए। यो भैँसी खुला क्षेत्रमा रहेकाले मानिसहरूले टाढैबाट हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
करीब आठ महिनाअघि ढाका नजिकैको नारायणगञ्जस्थित राबेया एग्रो फार्ममा ल्याइएको यस भैँसीलाई दुई महिनाअघि पुरानो ढाकाका एक व्यवसायीले इदका लागि खरिद गरेका थिए। फार्ममा रहँदै ट्रम्पसँग मिल्दोजुल्दो रुप भएका कारण यसको फोटो र भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भएको थियो।
स्थानीयदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म यसको चर्चा चुलिएपछि बङ्गलादेशका गृहमन्त्री सलाहउद्दीन अहमदले यो भैँसी एउटा दुर्लभ र विशेष प्रजाति भएकाले यसलाई बलि नदिई संरक्षण गरिने घोषणा गरेका थिए। गृहमन्त्रीको निर्देशनपछि भैँसीलाई स्थानीय केरानीगञ्ज मोडल प्रहरी चौकीमा राखिएको थियो र त्यहाँबाट प्रहरीकै सुरक्षामा ढाका चिडियाखाना पुर्याइएको हो।
चिडियाखानाको नियम अनुसार कुनै पनि नयाँ जनावरलाई कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले अहिले नै पर्यटकहरूलाई यसको नजिक जान र छुन भने अनुमति दिइएको छैन।







डिसी नेपाल







Facebook Comment