राप्रपामा विद्रोहको तयारी

महामन्त्री राणाको नेतृत्वमा सामूहिक राजीनामा र दुर्गा प्रसाईँसँग नयाँ दलको तयारी

डिसी नेपाल
१६ जेठ २०८३ १७:४३

काठमाडौं। देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गम्भीर राजनीतिक संकटको सामना गर्दै विभाजनको अन्तिम डिलमा पुगेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी कार्यशैली र वैचारिक विचलनप्रति तीव्र असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको संस्थापन इतर समूहले राप्रपाबाट सदाका लागि बाहिरिने कठोर निर्णय लिएको छ।

लामो समयदेखि पार्टीभित्र सल्किरहेको दुई लाइनको अन्तरसंघर्षको पटाक्षेप गर्दै राणा समूहले आगामी जेठ १८ गते काठमाडौंको होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। यसका लागि राजीनामाको मस्यौदा (ड्राफ्ट) समेत तयार भइसकेको स्रोतले जनाएको छ।

नेतृत्वमाथि स्वेच्छाचारिता, एजेन्डा विचलन र चुनावी लज्जाको आरोप

राजीनामाको मस्यौदामा राणा समूहले पार्टी नेतृत्वमाथि चरम स्वेच्छाचारिता प्रदर्शन गरेको र राप्रपाको मूल जग एवं मान्यताहरूलाई समाप्त पारेको गम्भीर आरोप लगाएको छ।

मस्यौदामा भनिएको छ, “जुन मान्यता र उद्देश्य लिएर राप्रपा स्थापना भएको थियो, ती सबै नामेट पार्ने मनोवृत्ति नेतृत्वमा देखियो। राजसंस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन मूल अगुवा नै अग्रसर भए र संसदमा सैद्धान्तिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता हुन सकेन।”

इतर पक्षले पार्टीको वैचारिक लाइनलाई बेवास्ता गर्दै नेतृत्वले तत्कालीन प्रचण्ड सरकारको ‘गठबन्धन सुधार’ सम्बन्धी कार्यक्रमलाई समर्थन गरेको विषयमा गम्भीर प्रश्न उठाएको छ।

साथै, नेतृत्वकै कमजोरी र अकर्मण्यताका कारण प्रतिनिधिसभा निर्वाचन २०८२ मा राप्रपाका अधिकांश उम्मेदवारहरूको लज्जास्पद ढंगले जमानत जफत भएको दाबी उनीहरूको छ।

केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिका बैठकहरूमा पटक–पटक सच्चिन दबाब दिँदा पनि कुनै सुनुवाइ नभएको र विधान मिच्दै निरंकुश शैलीमा कारबाही गर्ने काम मात्र भएको उनीहरूको गुनासो छ।

६० सम्म केन्द्रीय सदस्य बाहिरिने, दुर्गा प्रसाईँसँग नयाँ दल निर्माणको महाअभियान

राणा समूहका अनुसार हालसम्म ५० देखि ६० जना केन्द्रीय सदस्यहरू सामूहिक राजीनामाका लागि पूर्ण रूपमा तयार भइसकेका छन्।

राप्रपा त्याग्न लागेका प्रमुख नेताहरूमा मुकुन्दश्याम गिरी, सगुन लावती र नारायण कोइराला छन्। महामन्त्री प्रल्हाद साह पनि विभाजनको पक्षमा उभिने राणा समूहको दाबी छ, यद्यपि संस्थापन पक्षले भने उनी राप्रपामै रहने जिकिर गरेको छ।

राप्रपाबाट बाहिरिएपछि यो समूह राजनीतिक रूपमा निष्क्रिय नबसी देशका सबै राजावादी शक्तिहरूलाई समेटेर एउटा बलियो विकल्प निर्माण गर्ने ध्येयका साथ अघि बढ्नेछ।

यसै सिलसिलामा डा. राणाले केही समयदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सघन रूपमा संवाद गरिरहेका छन्। प्रसाईँ र राणाबीच नयाँ राजनीतिक दल दर्ता गर्ने र संयुक्त रूपमा नयाँ राजनीतिक यात्राको घोषणा गर्ने विषयमा प्रबल सहमति बनिसकेको स्रोतको भनाइ छ।

पूर्वअध्यक्षहरू राप्रपामै रहने, संस्थापन पक्षको बेवास्ता रणनीति

राप्रपा विभाजनको यो लहर चल्दा पनि पूर्वअध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने राप्रपामै रहने भएका छन्। यस्तै, यसअघि नै पार्टी छाडिसकेका रवीन्द्र मिश्र पनि तत्काल राणा समूहसँग जोडिने छैनन्।

केही समयअघि मात्र आफ्नो पार्टी राप्रपामा विलय गराएका कमल थापा पनि पछिल्लो समय लिङ्देनसँग असन्तुष्ट बनेर स्थापना दिवसमा अनुपस्थित रहे पनि उनी राणा समूहसँग मिल्ने सम्भावना तत्काल देखिएको छैन।

उता संस्थापन पक्षले भने सीमित नेताहरू मात्र बाहिरिने आकलन गर्दै उनीहरूलाई रोक्न प्रयास पनि नगर्ने र कारबाही पनि नगर्ने उपेक्षापूर्ण रणनीति बनाएको छ। संस्थापन पक्षका एक पदाधिकारीले जिम्मेवार नेताहरू विभाजनको पक्षमा नरहेको दाबी गर्दै अनुशासनहीन व्यक्तिहरू बाहिरिँदा पार्टीलाई कुनै फरक नपर्ने टिप्पणी गरेका छन्।

महाधिवेशनको मैदान खाली गर्दै राणाको बहिर्गमन

राणा समूहले पार्टीको नियमित महाधिवेशन छिटो गराउन दबाब दिएपछि महाधिवेशन कार्यतालिका बनाउन धवलशम्शेरसहितको एक समिति बनेको थियो।

तर, समितिका सदस्य प्रकाश रिमालले बैठक बस्न अनेकौँ पटक फोन गर्दा पनि राणाले बेवास्ता गरेर राजीनामाको भित्री तयारीमा लागेको आरोप संस्थापन पक्षको छ।

डा. राणाले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि तयारी गरिरहेका थिए, जहाँ वर्तमान अध्यक्ष लिङ्देन र राणाबीच कडा टक्कर हुने अनुमान थियो। तर, महाधिवेशन अगावै राणाले मैदान खाली गर्दै बहिर्गमनको बाटो रोज्न लागेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *