देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरीको सम्भावना: सतर्क रहन महाशाखाको आग्रह

डिसी नेपाल
१७ जेठ २०८३ ६:३४

काठमाडौं। नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वदेखि पश्चिमसम्म सक्रिय रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा व्यापक परिवर्तन आउने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशका धेरैजसो भूभागमा बदली, वर्षा तथा तीव्र गतिको हुरी चल्ने सम्भावना देखिएको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया मौसम बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ। यसै प्रणालीका कारण अहिले लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा र गण्डकी तथा कर्णाली प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भेगमा साधारणतया मौसम धुम्म रहनेछ भने तराईका बाँकी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ।

यस क्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित पानी पर्न सक्ने अनुमान गरिएको छ।

आज रातिको मौसम भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली नै रहनेछ। पहाडी क्षेत्र र लुम्बिनीको तराई भागमा आंशिक बदली रहे पनि बाँकी तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष गरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तीव्र गतिको हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ। मौसममा आउने यस्ता उतारचढावबाट बच्न र सुरक्षित रहनका लागि विभागले जारी गर्ने पछिल्ला मौसमी सूचना र अपडेटहरू नियमित रूपमा हेर्न समेत आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *