वार्षिक ८० लाखको ज्यान लिने सुर्तीजन्य महामारी: नयाँ पुस्ता जोगाउन अब प्रतिबन्धकै खाँचो

डिसी नेपाल
१७ जेठ २०८३ ६:४५

काठमाडौं। आज विश्वभर विभिन्न चेतनावूलक कार्यक्रमका साथ ‘विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस’ मनाइँदै छ।

हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसको मुख्य उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट उत्पन्न हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, र यसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चालेका कदमहरूबारे जनचेतना फैलाउनु हो। यसका साथै भावी पुस्ताको संरक्षण र स्वस्थ जीवनयापनका लागि ठोस कदम चाल्न प्रेरित गर्नु पनि यसको ध्येय रहेको छ।

डब्ल्युएचओका सदस्य राष्ट्रहरूले सन् १९८७ मा सुर्तीजन्य महामारी र यसबाट हुने अकाल मृत्यु रोक्न ध्यानाकर्षण गराउने उद्देश्यले यो दिवसको सुरुआत गरेका थिए। सुरुमा सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’ का रूपमा मनाइए पनि सोही वर्षको अर्को प्रस्तावअनुसार हरेक वर्ष मे ३१ लाई विश्व सुर्तीजन्य पदार्थरहित दिवसका रूपमा मनाउन थालिएको इतिहास छ।

डब्ल्युएचओको तथ्यांकअनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको लतमा छन्, जसमध्ये ठूलो हिस्सा निम्न तथा मध्यम आय भएका मुलुकमा बस्छन्। पछिल्लो समय यसको प्रयोगमा केही गिरावट आए पनि अझै पनि विश्वका हरेक पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्।

यसकै कारण विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्, जसमा झण्डै १२ लाख जनाको मृत्यु त आफूले धूमपान नगरे पनि अरूले गरेको धूमपानको धुवाँ (निष्क्रिय धूमपान) का कारण हुने गरेको छ।

यस वर्षको दिवसका अवसरमा डब्ल्युएचओले विशेष गरी नयाँ पुस्तालाई सुर्ती र निकोटिनको गम्भीर लतबाट जोगाउन विश्वका सरकारहरूलाई कडा आग्रह गरेको छ।

संगठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ४ करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। पछिल्लो समय युवा पुस्तामाझ विद्युतीय चुरोट (ई-सिगरेट) र निकोटिन पाउचको प्रयोग चिन्ताजनक रूपमा बढिरहेको छ।

सुर्ती तथा निकोटिन उत्पादक कम्पनीहरूले आफ्ना उत्पादनलाई आकर्षक, प्रयोग गर्न सजिलो र छोड्न गाह्रो हुने गरी परिमार्जन गरिरहेको डब्ल्युएचओले जनाएको छ। विशेषगरी विभिन्न स्वाद (फ्लेभर) युक्त ई-सिगरेट र निकोटिन पाउचको आक्रामक बजार विस्तारमार्फत किशोर र युवाहरूलाई अम्मली बनाउने रणनीति ठूला कम्पनीहरूले अपनाइरहेका छन्।

डब्ल्युएचओका निर्देशक डा. एटिएन क्रुगका अनुसार कम्पनीहरूले सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर) र आकर्षक प्याकेजिङ प्रयोग गरेर युवालाई लक्षित गरिरहेका छन्।

निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक तत्व हो। विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका र युवाका लागि यसको असर झन् घातक हुन्छ।

हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई-सिगरेट प्रयोग गर्ने अनुमान छ। तर, विडम्बना के छ भने विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी र नियमनको कुनै व्यवस्था छैन, जसले गर्दा लाखौँ मानिस जोखिममा परेका छन्।

यसै सन्दर्भमा डब्ल्युएचओले सम्पूर्ण सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, यसको विज्ञापन र प्रायोजन रोक्न, तथा सार्वजनिक भित्री स्थानहरूलाई पूर्ण रूपमा धूमपान र भेप-मुक्त क्षेत्र घोषणा गर्न माग गरेको छ।

बढ्दो आधुनिक लतलाई बेलैमा नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्य संकटमा पर्ने चेतावनी दिँदै संगठनले स्वस्थ समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *