टाइब्रेकरमा आर्सनललाई पराजित गर्दै पीएसजीले लगातार दोस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

डिसी नेपाल
१७ जेठ २०८३ ७:०७

काठमाडौं। डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनललाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।

निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल १-१ को रोमान्चक बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टी सुटआउटमा आर्सनलका इबेरेची एजी र ग्याब्रिएल गोल गर्न चुकेपछि पीएसजी उपाधि रक्षा गर्न सफल भयो।

खेलको निर्धारित समयमा आर्सनलका काइ हाभर्टेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि पीएसजीका ओसमन डेम्बेलेले पेनाल्टीमार्फत गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए।

यस जितसँगै पीएसजी च्याम्पियन्स लिगको इतिहासमा रियल म्याड्रिडपछि लगातार दुई वर्ष उपाधि जित्ने पहिलो टोली बनेको छ भने टोलीका प्रशिक्षक लुइस एनरिकले प्रशिक्षकका रूपमा तेस्रो पटक यो प्रतिष्ठित उपाधि चुमेका छन्।

अर्कातर्फ, इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा रहेको आर्सनल फाइनलमा पराजित भएको यो दोस्रो पटक हो। यसअघि सन् २००६ को फाइनल खेलमा पनि आर्सनल बार्सिलोनासँग पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *