काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन, २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
काठमाडौं। काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि आज (आइतबार) छात्रवृत्ति परीक्षा सञ्चालन गर्दैछ। बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने यस परीक्षाका लागि महानगरपालिकाले ८३ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।
महानगरपालिका अन्तर्गतका निजी विद्यालयहरूमा कक्षा ११ र १२ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि यस वर्ष २६ हजार ६८० जना परीक्षार्थीहरू सहभागी हुन योग्य भएका छन्। आवेदन दिने कुल २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिएका छन्।
प्रवेश पत्र र परीक्षाका नियमहरू परीक्षार्थीहरूले जुन प्रणालीबाट आवेदन दिएका थिए, त्यहीँबाट प्राप्त हुने रङ्गीन प्रवेश पत्र प्रिन्ट गरेर परीक्षा केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ।
परीक्षा केन्द्रमा प्रवेश पाउनका लागि रङ्गीन प्रवेश पत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात (एसईईको प्रवेशपत्र, विद्यालयको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र) अनिवार्य रूपमा साथमा बोक्नुपर्नेछ।
बालेन शाहको पालादेखि सुरु भएको प्रणाली, हजारौँ लाभान्वित काठमाडौँ महानगरपालिकाका वर्तमान मेयर बालेन्द्र शाहले आफ्नो कार्यकालमा संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूलाई पारदर्शी र व्यवस्थित रूपमा छात्रवृत्ति वितरण गर्न यो प्रणालीको विकास गरेका हुन्।
महानगरले २०८० सालदेखि नीतिगत निर्णय गरेर यो परीक्षा सञ्चालन गर्न थालेको हो। यो कार्यक्रम सुरु भएयता हालसम्म देशभरका करिब १५ हजार विद्यार्थीहरू लाभान्वित भइसकेका छन्।
गत वर्ष सञ्चालन गरिएको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएकोमा १० हजार ८६७ जना उत्तीर्ण भएका थिए। तीमध्ये योग्यताक्रमका आधारमा करिब ४५ सय विद्यार्थीले मात्रै छात्रवृत्ति प्राप्त गरेका थिए। गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीहरूको सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको छ।







डिसी नेपाल







Facebook Comment