एसियाली खेलकुद छनोट: समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज चीनको सामना गर्दै

डिसी नेपाल
१७ जेठ २०८३ ८:०३

काठमाडौं। एसियाली खेलकुद छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज (आइतबार) आफ्नो पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार आइतबार बिहान ७ः१५ बजे सुरु हुँदैछ।

कुल दुई समूहमा विभाजन गरिएको यस छनोट प्रतियोगिताबाट शीर्ष २–२ टोलीहरू एसियाली खेलकुदका लागि छनोट हुने प्रावधान रहेको छ। नेपाल रहेको यस समूहमा चीन र मलेसिया रहेका छन्। समूह विजेता बन्दै एसियाली खेलकुदको टिकट काट्ने मुख्य लक्ष्यसहित नेपाली टोली मैदान उत्रिन लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले यस महत्वपूर्ण प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा बलियो टोली घोषणा गरेको छ। केही दिनअघि नै सिंगापुर पुगेको नेपाली टोलीले त्यहाँ दुई दिनको सघन अभ्यास पूरा गरी चीनविरुद्धको खेलका लागि रणनीति तय गरिसकेको छ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की जस्ता अनुभवी तथा प्रतिभावान खेलाडीहरू समावेश छन्। अनुकुल मौसम र दुई दिनको अभ्यासले खेलाडीहरूमा उच्च मनोबल रहेकाले चीनविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *